नेपाली सेनाले दसैं बिदामा जाने सैनिकलाई घरसम्म पुर्याउने व्यवस्था गरेको छ। सार्वजनिक यातायातमा कोरोना संक्रमणको जोखिम हुने भएका कारण सेनाले आफ्नै सवारी साधनमा घर पुर्याउने व्यवस्था गरेको हो।
सवारी साधनको व्यवस्था र रुटको बारेमा सेनाको मुभमेन्ट कन्ट्रोल महाशाखाले तयारी गरिरहेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए।
यस वर्षको दसैंमा सकेसम्म कमलाई बिदामा छाड्छौं, रुट मिल्नेलाई बस, हेलिकोप्टर र जहाजमा ठाउँठाउँमा पुर्याउने व्यवस्था गरेका छौं, प्रवक्ता पौडेलले भने, सकेसम्म कसैले पनि सार्वजनिक यातायात नचढ्ने गरी व्यवस्था मिलाएका छौं।
नेपाली सेनासँग ३ वटा ठूला हेलिकोप्टर, ३ वटा साना हेलिकोप्टर र ३ वटा स्काइट्रक एउटा ४२ सिटे जहाज छ।घर बिदामा जाने टाढाका सैनिकलाई सेनाले जहाजमा विमानस्थलमा लैजाने छ। विमानस्थलदेखि सम्बन्धित स्थानका ब्यारेकले उनीहरुको घरसम्म पुर्याउने व्यवस्था गरिएको छ।
यस्तै पहाडी र हिमाली जिल्लामा भने हेलिकोप्टरबाट पुर्याउने व्यवस्था गरेको छ। नजिक र ठूलो संख्यामा पुर्याउनु पर्ने ठाउँमा सेनाले आफ्नै बस चलाउने छ। यसरी सवारी साधनको व्यवस्था गर्दा रुट र बिदामा जाने सैनिकको संख्या अनुसार व्यवस्था गरिएको प्रवक्ता पौडेलले बताए।
बिदा सकेर फर्किंदा पनि यहि नियम लागु हुने छ। सेनाले आफ्नै सवारीमा ल्याउने छ। बिदा सकेर फर्किएका सैनिकलाई क्वारेन्टिनमा राख्ने र पीसीआर गरेर मात्रै काममा खटाउने तयारी सेनाको छ।सेनाले कोरोना संक्रमणबाट आफ्ना जवानलाई बचाउनका लागि यस्तो व्यवस्था गरेको हो।
हालसम्म नेपाली सेनाका ३ हजार २ सय ४४ जना सैनिकमा कोरोना संक्रमण देखिएको छ। यसमध्ये १ हजार ७ सय ६७ जना निको भएर काममा फर्किएका छन्। कोरोना संक्रमणकै कारण दुई सैनिकको ज्यान गएको छ।