नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालयमा पदबहाली गरेलगत्तै पहिलो निर्णयमा हस्ताक्षर गरेका छन् ।
पौडेलले मन्त्रालयको पदबहाली नै ऋण लिने निर्णयबाट सुरु गरेका छन् । कोरोना भाइरस (कोभिड- १९) संक्रमण नियन्त्रण तथा रोकथामका लागि विश्व बैंकबाट २० करोड डलर सहुलियत ऋण लिने निर्णयमा उनले हस्ताक्षर गरेका हुन् ।
शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ ग्रहण गराएलगत्तै अर्थ मन्त्रालय पुगेर पौडेलले पदबहाली पदबहाली गरे ।
पदबहालीका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, महालेखा नियन्त्रक मधुकुमार मरासैनी, राजश्व बोर्डका अध्यक्ष महेश दाहाल, भन्सार विभागका महानिर्देशक सुमन दाहाललगायत उपस्थित भए रहेका थिए । त्यस्तै, नवनियुक्त अर्थमन्त्रीलाई बधाइ दिन नेकपाका सांसदहरू पनि मन्त्रालय पुगेका छन् ।
डा. युवराज खतिवडा बाहिरिएपछि प्रधानमन्त्री आफैंले सम्हालिरहेको अर्थमन्त्रालय पौडेललाई जिम्मा लगाएका हुन्।
ओली पहिलोपटक प्रधानमन्त्री हुँदा पनि २०७२ असोजमा पौडेल अर्थमन्त्री भएका थिए। त्यसबेला उनी तत्कालिन एमालेको उपमहासचिव थिए। अहिले माओवादी पनि मिसिएको नेकपाको महासचिव छन्।
विष्णु पौडेलको बायोडाटा
२०५१ मा प्रतिनिधिसभा सदस्यसमेत भइसकेका पौडेल २०५३ सालमा युवा खेलकुद तथा संस्कृति मन्त्री भएका थिए। २०३७ सालमा ३ वर्ष राजकाजको मुद्दा खेपेका पौडेलले ३ हजार रुपैयाँ जरिवानासहित भैरहवा जेल चलान भएपछि ४५ दिनको परिश्रमपछि जेल विद्रोह गरेका थिए ।
देवीलाल र रेवती पौडेलका छोरा विष्णुप्रसाद पौडेलको जन्म २०१६ साल मंसिर ५ गते स्याङ्जाको पुतलीबजार-१३ मा भएको हो। माध्यमिक तहसम्म पढेका पौडेल २०३३ सालदेखि राजनीतिमा सक्रिय छन्।
तत्कालिन नेकपा एमालेका केन्द्रीय सचिवसमेत रहेका पौडेल २०६४ सालको संविधानसा चुनावमा रुपन्देही क्षेत्र नम्बर ४ बाट विजयी भएका थिए। अहिले उनी एकीकृत पार्टीको महासचिव छन्।