विश्वमै पहिलो पटक दुधिलो रङको दुईवटा सेतो करेत सर्प नेपालमा फेला परेको छ । दुईवटा दुधिलो सेतो रङको करेत जनकपुरमा फेला परेको हो ।
कोरोना भाइरस (कोभिड–१९) बन्दाबन्दीको समयमा वैशाख–जेठमा धनुषाको किसनपुरमा सेतो दुधिलो रङको करेत सर्प फेला परेको छ । मिथिला वाइल्ड लाइफ ट्रस्टका सदस्यहरूले सेतो सर्प देखेपछि त्यसको उद्धार गरेका थिए । कालो, खैरो र मिश्रित रङका करेत सर्प पाइन्थे तर सेतो रङको अचम्मको सर्प देखेपछि स्थानीय समेत अन्योलमा परे । ट्रस्टका सदस्य गणेश शाहले उद्धार गरेर सर्पका बारेमा अध्ययन गरिरहेकालाई खबर गरे ।
नेपालमा छ प्रजातिका करेत सर्प पाइन्छ । जसमध्ये कमन करेत जताततै पाइन्छ । यसको डसाईमा पर्ने मानिसको सङ्ख्या बढी हुन्छ । छवटा प्रजातिमध्ये दुईवटा प्रजातिको करेत दुधिलो रङमा विश्वमै पहिलो पटक फेला परेको दाबी अध्येता कमल देवकोटाले गर्नुभयो । ग्रेटर ब्ल्याक करेत अधिक विषालु सर्प हो । यही प्रजातिमा पूरै दुधिलो सेतो रङको करेत नेपालमा फेला परेको उनले बताए ।
उहाँसँगै अध्येता देवनारायण मण्डल, गणेश शाह, मार्क ओशिया र हिनरिच कैशरले विश्वव्यापी रूपमा यस प्रजातिको अध्ययन थाल्नुभयो । “अध्ययनका क्रममा करेत हो भनेर त थाहा भयो तर कुन प्रजातिको हो भनेर पत्ता लगाउन थप अध्ययन गर्यौं,” देवकोटाले भने ।
उनका अनुसार करेतको हरेक प्रजातिको फरक थाहा पाउन यसका कत्ला, आँखा र ढाडको बनावटको विस्तृत अध्ययन गर्नुपर्छ ।
झण्डै चार महिनाको अथक् अध्ययनपछि यो दुर्लभ सेतो करेत सर्प विश्वका अन्यत्र नपाएको निधो गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरियो । जस अनुसार यो दुई प्रजातिमा सेतो दुधिलो रङको करेत सर्प नेपालमा मात्र पाइएको उल्लेख छ ।, यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।