विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको साथमा रहेका रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगिज फुटबल महासंघले मंगलबार पुष्टि गरेको छ । यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन ।
मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो। पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डोले आइतबार राति फ्रान्सविरुद्व मैदान उत्रिएका थिए।
रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ । रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ । रोनाल्डोले आइतबार मात्र फ्रान्सविरुद्ध गोलरहित बराबरी भएको खेलमा खेलेका थिए ।
रोनाल्डोलाई संक्रमण भएसँगै उनले अब पोर्चुगलले बुधबार खेल्ने खेलसँगै क्लब फुटबलमा पनि केहि खेल गुमाउने सम्भावना रहेको छ ।