भारतमा आइतबार कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितको संख्या ७० लाख नाघेको छ । साथै कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख ८ हजार ३७१ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा गत २४ घण्टामा ७४ हजार ५३६ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ९२१ जनाको मृत्यु भएको छ । गत १३ दिन अर्थात सेप्टेम्बर १८ बाट अक्टोबर २८ सम्म कोभिड १९ सङ्क्रमितको संख्या दश लाख बढेको पनि समाचारमा जनाइएको छ ।
अझै पनि भारतभरी ८ लाख ६८ हजार ३०९ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६० लाख ७४ हजार ८६३ सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन ।
कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ८ करोड ५७ लाख ९८ हजार ६९८ व्यक्तिलाई कोरोना भाइरसको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।
शनिबार एकै दिनमा पनि १० लाख ७८ हजार ५४४ व्यक्तिको कोरोना भाइरस सङ्क्रमण परिक्षण गरिएको पनि आइसीएमआरले जानकारी दिएको छ ।
विश्वको शीर्ष स्थानमा रहेको संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमितको संख्या ७९ हजार ४५ हजार ५०५ पुग्दा २ लाख १९ हजार २८२ जनाको निधन भएको छ ।
दैनिक उच्च संख्यामा कोरोना देखिन थालेपछि अबको २ हप्तामा भारत कोरोना संक्रमणको शीर्ष स्थानमा पुग्न सक्ने विभिन्न संचारमाध्यहरुले जनाएका छन् ।