दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् ।
दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।
सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ ।
यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको सङ्घले जनाएको छ ।
देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ । “बन्दाबन्दी अगाडि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करिब ५० प्रतिशत किसान यो व्यवसाय छाडेका छन्”, सङ्घका उपाध्यक्ष किरणभूषण ओलीले भन्छन् , “बैँकबाट कर्जा लिएर निर्माण गरिएका अधिकांश पोल्ट्री संरचनामा अहिले ताला लागेका छन् ।”
दानामा भएको चर्को मूल्यवृद्धिका कारण सबैभन्दा बढी अण्डा उत्पादक साना किसान प्रभावित भएका छन् । पाँच हजारभन्दा कम कुखुरा पाल्ने किसानलाई साना किसान भनिन्छ । नेपालमा एकै व्यक्तिले तीन लाखसम्म कुखुरा पाल्ने गरेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसक्दा अधिकांश साना किसान यो व्यवसायबाट विस्थापित हुँदै गइरहेको छ । “ विगत एक वर्षदेखि किसानले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकेको छैन्”, उनले भने, “दानाको चर्को मूल्य र कोभिड–१९ का कारण साना व्यवसायीहरु विस्थापित भएका छन् ।”
सरकारले राहत उपलब्ध नगराए पोल्ट्री व्यवसाय नै सङ्कटमा पर्न सक्ने अवस्थामा आइपुगेको व्यवसायीहरुको भनाइ छ । सङ्घका अनुसार सन् २०१६-१७ मा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुन्थ्यो । सन् २०१७-१८ मा प्रतिदिन ५० लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले त्यसमा भारी गिरावट आएको छ ।
सङ्घका उपाध्यक्ष ओलीका अनुसार दाना किन्ने किसान अहिले पनि मारमा छन् । आफैं दाना उत्पादन गर्नेले मात्र यो व्यवसाय धानिएका छन् । दाना बनाउन मकै, भटमास आवश्यक पर्छ । मकै र भटमासको मूल्यमा हुने वृद्धिले दानाको मूल्यमा असर पार्छ । विगत २८ वर्षदेखि कुखुरा पाल्दै आउनुभएका पूर्वी चितवनका व्यवसायी दिपक खनालले अण्डाको व्यापारमा विचौलिया हावी हुँदा किसानको जीवनस्तर माथि उठ्न सकेको छैन् । अण्डा उत्पादनमै आफ्नो जीवन लगाउनुभएका उहाँले भन्नुभयो, “विचौलियाका कारण अण्डा व्यापारलाई अहिलेसम्म व्यवस्थित गर्न सकिएन ।”
नेपालमा विषेशगरी चितवन, रुपन्देही, पोखरा, काठमाडौँमा पोल्ट्री व्यवसायीहरु छन् । पोल्ट्री व्यवसायमा चार लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ ।