अमेरिकामा हतियारसहित बैंक लुटेको आरोपमा एक नेपाली पक्राउ गरेका छन् ।
मोन्टगोमेरी काउन्टी पुलिस विभागले सम्राट लामा नामका नेपालीलाई वेल्स फर्गो बैंकको ६०७ नर्थ फ्रेडरिक एभेन्युमा रहेको शाखा लुटेको अभियोगमा पक्राउ गरेको हो ।
लोकलडिभीएमको रिपोर्टअनुसार यो बैंक मंगलबार स्थानीय समयअनुसार बिहान १० बजेर २ मिनेटको समयमा लुटिएको थियो ।
अधिकारीहरुका अनुसार लामा बिहान बैंकभित्र गएर एक कर्मचारीलाई आफूले बचत खाता खोल्न चाहेको बताएका थिए ।
समाचारमा जनाइए अनुसार लामाले आफूले पछाडि बोकिरहेको झोलाबाट एउटा चक्कु निकालेर ती कर्मचारीतिर सोझ्याएका थिए । त्यसपछि उनले काउन्टरका टेलर कर्मचारीलाई पैसा एउटा प्लाष्टिकको झोलामा राखिदिन भनेका थिए । त्यसपछि उनी पैसा लिएर भागेका थिए ।
प्रहरी अधिकारीहरुका अनुसार लामाले केही पर रहेका अर्का टेलरसम्म पनि पुगेर अझै पैसा मागेका थिए ।
लामा बैंक लुटेर भाग्ने प्रयासमा अधिकारीहरुले भेटेर पक्राउ गरेका थिए । लामालाई सेन्ट्रल प्रोसेसिङ युनिटमा पठाइएको छ र हतियार देखाएर लुटपाट गरेको आरोपमा मुद्दा चलाइएको छ ।