कुखुरामा एच नाइन भाइरस देखिएपछि यहाँका किसानले पालेका कुखुरा धमाधम मर्न थालेका छन् । भरतपुर महानगरपालिका ६ केशरबागका किसान खेमराज पाठकले पालेका ५ हजार बढी लेयर्स जातका कुखुरा मरेका हुन । ती मरेका कुखुरालाई सोमबार खाल्डो खनेर गाडिएको छ ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा एच नाइन भाइरस पुष्टि भएको थियो ।
यसपछि मरेका कुखुरालाई गाड्ने काम गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा दयाराम चापागाईले बताए । “काठमाडौँमा परीक्षण गर्दा एच नाइन देखियो, बर्ड फ्लु नदेखिएकाले मरेका कुखुरालाई व्यवस्थापन मात्रै गरेका छौं, नयाँलाई मारेका छैनौं ” उनले भने ।
उनले भरतपुरस्थित राष्ट्रिय पंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको र्यापिड टेस्टमा बर्ड फ्लुको संकेत देखाए पनि काठमाडौंमा गरिएको परीक्षणमा एच नाइन भाइरस देखाएको बताए । एच फाइभ (५)लाई बर्ड फ्लु भनिन्छ । यो मानिसमा समेत सर्न सक्ने रोग भएकाले कुखुरालाई मार्ने गरिन्छ । तर केशरबागमा देखिएको रोग बर्ड फ्लु नभएको पुष्टि भएको छ ।
बर्ड फ्लु नभएपछि भरतपुर महानगरपालिकाका प्रतिनिधि, पशु प्राविधिक, वडाका प्रतिनिधिलगायतको उपस्थितिमा पाँच हजार बढी कुखुरा गाडिएको छ ।
तर कुखुरा पालक किसान खेमराज पाठकले आफ्नो कुखुरा बर्ड फ्लु भएरै मरेको दावी गर्दै हल्ला नफैलाउनका लागि माथिल्लो निकायबाट लुकाएको बताए ।
उनले भने–‘भरतपुरमा बर्ड फ्लु देखाउँदा काठमाडौंबाट एच ९ भन्ने जानकारी पाए, यो सबै लुकाउने काम भएको छ ।’ उनले पोल्ट्री फार्म नजिकै केही चराहरु समेत मरेको भेटिएको दावी गर्दै ठूला व्यापारीको दवाबमा बर्ड फ्लु लुकाउने काम भइरहेको दावी गरे । ‘हामी जस्ता साना किसानले न्याय पाउनु पर्छ भन्ने हो, यहाँ ठूलाको दवाबमा बर्ड फ्लुलाई लुकाउने काम भइरहेको छ ।’