चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी अनसन बसकेको २० दिन बढी भइसकेको छ। २१औं दिनमा आइपुग्दा उनकोे स्वास्थ्य अवस्था एकदमै गम्भीर बनेको छ। डा. केसीसँग वार्ताका माध्यमबाट समस्या समाधान गर्न सरकारले कुनै चासो देखाएको छैन।
डा. केसीले भदौ १९ गते कर्णाली प्रदेशको जुम्लामा १९औं अनशन थालेका हुन्। उनी यति बेला त्रिवि शिक्षण अस्पतालको शड्ढयामा छन्।
सरकारले विगतमा भएका सम्झौता कार्यान्वयनमा आलटाल गरेपछि कोरोना महामारीका कारण उत्पन्न विषय परिस्थितिबीच पनि ज्यान जोखिममा राखेर अनशन थाल्नुपरेको तर्क डा. केसीले गर्दै आएका छन्।
केसीको अनशन र वार्ता शृंखला
वरिष्ठताका आधारमा चिकित्साशास्त्र अध्ययन संस्थानमा डिन नियुक्त गर्नुपर्ने माग राख्दै डा. केसीले पहिलो अनशन सुरु गरेका थिए । उनले पहिलो अनशन (२०६९ असार २१–२४) थाल्दा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए भने दीनानाथ शर्मा शिक्षामन्त्री र राजेन्द्र महतो स्वास्थ्यमन्त्री थिए । डा. केसीको माग सम्बोधन गर्दै अनशनको चौथो दिन त्रिवि कार्यकारी परिषद्ले वरिष्ठता सूचीमा पहिलो नम्बरमा रहेका डा. कुमुदकुमार काफ्लेलाई आइओएमको डीन नियुक्त गरेपछि अनशन स्थगित भएको थियो ।
त्रिविले वरिष्ठता सूचीमा ३२ नम्बरमा रहेका डा. धर्मकान्त बाँस्कोटालाई डिन नियुक्त गरेपछि डा. केसीले दोस्रो अनशन (२०६९ साउन २७–भदौ १) सुरु गरे । त्यो बेला पनि प्रधानमन्त्रीमा भट्टराई, शिक्षामन्त्रीमा शर्मा र स्वास्थ्यमन्त्रीमा महतो नै थिए । अनशनको छैटौं दिनमा डा. प्रकाश सायमीलाई डिन बनाएपछि उनको अनशन तोडियो ।
राजनीतिक भागबन्डाका आधारमा नियुक्त आइओएमका डिसी शर्मालाई बर्खास्त गर्नेसहितका माग राखेर डा. केसीले तेस्रो अनशन(२०७० पुस २७–माघ १०) सुरु गरे । त्यो समयमा मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी थिए भने शिक्षामन्त्री माधव पौडेल र स्वास्थ्यमन्त्री विद्याधर मल्लिक थिए । अनशनको १४ दिनपछि डिन शर्मालाई बर्खास्त गर्नेलगायत सहमति भएपछि उक्त अनशन तोडिएको थियो ।
आइओएमको भ्रष्ट पदाधिकारीलाई कारबाही गर्नुपर्ने मागसहित सुरु भएको चौथो अनशन(२०७० माघ २५–फागुन ३) को आठौं दिनमा कुनै वार्ता समिति गठन नगरी सहमति गरिएको थियो । चौथो अनशन पनि मन्त्रिपरिषद्का अध्यक्षमा रेग्मी, शिक्षामन्त्रीमा पौडेल र स्वास्थ्यमन्त्रीमा मल्लिक नै थिए ।
गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य शिक्षाका लागि त्रिविबाट थप मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेसहितका माग राखेर डा. केसीले पाँचौं अनशन(२०७१ चैत ८–१९) थालेका थिए । त्यो बेला प्रधानमन्त्री सुशील कोइराला, शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्यमन्त्री खगराज अधिकारी थिए । आफूले उठाएको माग सम्बोधन गर्न सरकार तयार भएपछि उनले १२ दिनपछि अनशन तोडेका थिए ।
माथेमा आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेलगायत माग राखी सुरु भएको छैठौं (२०७२ भदौ ७–२०) अनशनको १०औं दिनपछि डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन भएको थियो । त्यो बेला प्रधानमन्त्रीमा कोइराला, शिक्षामन्त्रीमा यादव र स्वास्थ्यमन्त्रीमा अधिकारी नै थिए । सरकारले उनको माग सम्बोधन सम्बोधन गर्ने सहमति गरेपछि १४औं दिनमा अनशन तोडिएको थियो ।
उनको आठौं (२०७२ असोज २–१२) अनसन भारतीय नाकान्दीका कारण ११ दिनपछि उक्त तोडिएको थियो ।
नौ पटकको (२०७३ असार २६–साउन १०) अनशनको १० दिनपछि साउन ५ गते वार्ता टोली गठन भएको थियो । दसैंका कारण अनशन स्थगित भएको थियो ।
१०औं (२०७३ कात्तिक २८–मंसिर १९) अनशनको १४ दिनपछि मंसिर ११ गते वार्ता टोली गठन भएको थियो र १९ गते उनको अनसन स्थगित भयो।
११औं (२०७४ साउन ९–३२) अनशनको चारदिन पछि १२ गते वार्ता समिति गठन भयो । तर, प्राकृतिक विपत्ति कारण २३ दिनमा अनशन स्थगित भएको थियो ।
१२औं अनसन(२०७४ असोज ९–असोज ११) दसैंको समय भएकाले स्थगित गरिएको थियो ।
१३औं अनसन (२०७४ असोज १९–कात्तिक १) को सात दिनपछि असोज २५ गते वार्ता टोली गठन गरेको थियो । कात्तिक १ मा उनले अनसन स्थगित गरे।
१४औं (२०७४ पुस २४–३०) अनसन चार वर्षअघि डिन पदबाट तत्कालका लागि हटाइएका आइओएमका प्राध्यापक डा. शशी शर्मालाई सर्वोच्च अदालतले डिनमा पुनर्बहाली गराएपछि केसी सर्वोच्च अदालतविरुद्ध अनशन बसेका थिए । तर पुस २८ गते शर्माको कार्यकाल सकिएपछि डा. केसीले अनशन स्थगित गरेका थिए ।
१५औं अनशनको १६ दिनपछि ३२ असारमा वार्ता टोली गठन भएको थियो । वार्ता टोलीले महत्वपूर्ण सहमति गरेपछि अनशन स्थगित भएको थियो ।
१६औं (२०७५ पुस २५–माघ १८) अनसन इलामबाट सुरु भएको डाक्टर केसीको २४औं दिनमा स्थगित भएको थियो । स्वास्थ्य अवस्था बिग्रिएका कारण इलामबाट ल्याइएपछि काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पातालमा अनशनरत केसीले पूर्वप्रधान्यायधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनशनको अन्त्य गरेका थिए ।
१७औं (२०७६ कात्तिक १७–२६) अनसन सातबुँदे माग अघि सार्दै केसीले डडेलधुराबाट सुरु गरेका थिए । देशको माहोल भारतसँगको सीमा विवादमा केन्द्रित भएको बताउँदै उनले नवौं दिनमा सरकारसँग वार्ता नै नगरी अनशन स्थगित गरेको थिए ।
१८औं (२०७७ जेठ २० देखि २१) केसीले दार्चुलाको सदरमुकाम खलंगामा सुरु गरेका थिए । नेपालको भूमि फिर्तासहितको तीनबुँदे माग अगाडि सार्दै उनले दुई दिन अनशन बसेर आफैं स्थगित गरेका थिए ।
१९औं (२०७७ भदौ २९ यता जारी) पटक कर्णाली प्रदेशको जुम्लाबाट भदौ २९ गतेदेखि ६ बुँदे माग राखेर डा. केसीले आमरण अनशन थालेका छन्। सरकारले उनलाई अनशनको नवौं दिन काठमाडौं ल्याएको हो ।
काठमाडौं ल्याएपछि डा. केसीको इच्छाविपरीत प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरमा लगेर राखेको थियो । तर डा. केसी स्वैच्छिक डिस्चार्ज लिएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् ।
नेपालको चिकित्सा शिक्षाको क्षेत्रमा सुधारका लागि एक दशकमा झन्डै २४० दिन बढी अनशनमा बसेका डा. केसीले अनियमितताविरुद्ध एक्लै भए पनि निरन्तर आवाज उठाउने सत्याग्रहीको छवि बनाएका छन्।
चिकित्सा शिक्षामा सुधारको माग राख्दै प्राडा गोविन्द केसीले आमरण अनशन सुरु गरेको ८ वर्ष भइसकेको छ। यो अवधिमा केसीले आधा दर्जन बढी प्रधानमन्त्रीको सामना गरे। केसीका तीन अनशन झेलेका प्रधानमन्त्री सुशील कोइरालाको निधन भइसकेको छ। अन्य प्रधानमन्त्री डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी, पुष्पकमल दाहाल, शेरबहादुर देउवा, केपी शर्मा ओलीलगायतका प्रधानमन्त्री केसीको अनशनका साक्षी छन्।
नोट : यो समाचारमा प्रयोग गरिएको फिचर तस्विर FactsNepal.com बाट लिइएको हो ।