पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ६ सय ३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १ हजार २ सय ८० ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यो संख्या अहिलेसम्मकै सर्वाधिक वृद्धि हो।
उनका अनुसार शुक्रबार देशभर २ हजार ७ सय २२ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै कुल सङ्क्रमित हुनेको सङ्ख्या ८२ हजार ४ सय ५० पुगेको छ । पछिल्लो २४ घन्टामा ११ जनाको निधन भएको छ भने ३ हजार ३ सय ७ जना निको भएर घर फर्किएका छन् ।
पछिल्लो समय देशका अन्य क्षेत्रहरु भन्दा काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँ अत्याधिक बढ्दै गएको छ । मन्त्रालयले संक्रमितहरु थपिएको पुष्टि गरे पनि संक्रमितहरुको ठेगाना भने खुलाएको छैन।