कुवेतका राष्ट्रप्रमुख (ईमिर) शेख सबा अल अहमद अल सवाहको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको छ ।
अहमदको अमेरिकामा निधन भएको हो । उनी जुलाई १८ मा अस्पताल भर्ना भएका थिए। उनको शल्यक्रिया सफल भएको थियो । पछि फेरि थप उपचारको लागि उनी जुलाई २३ मा अमेरिका गएका थिए । गल्फ न्युजका अनुसार अमेरिकामा उनको के उपचार भयो भन्ने कुरा ईमिरका अधिकारीले खुलाएका छैनन् ।
सन् २००६ देखि कुवेतको ईमिर बन्नुभएका सबा अल अहमद ५० वर्षदेखि विदेशी नीति सम्हाल्दै आएका थिए । सबा अल अहमदको निधनको शोकमा कुवेतमा ४० दिनसम्म शोक अवधि घोषणा गरिएको छ भने तीन दिनको लागि कार्यालयहरु बन्द गरिएका छन् ।
सभा अलको निधनपछि उनका भाइ शेख नवाफ अल अहमद अल सबाह कुवेतका नयाँ ईमिर बनेका छन् । ८३ वर्षीय शेख नवाफले जुलाई १८ मा, शेख सभा अल अस्पताल भर्ना भएको बेला पनि इमिरको जिम्मेवारी वहन गरिसकेका थिए । यस्तै उनले रक्षा मन्त्री र गृहमन्त्रीको पद सम्हालीसकेका छन् ।