असोज ५ देखि खुलेको आन्तरिक उडानमा यात्रुको चाप बढ्दा उडान थप हुने भएको छ। २५ प्रतिशत मात्रै नियमित उडान हुँदा ९० प्रतिशत बढी यात्रु रहेको वायुसेवा कम्पनीले बताएका छन्।
यात्रु बढ्नुको मुख्य कारण हवाइ भाडा कम र स्वास्थ्य सुरक्षा राम्रो भएको वायुसेवा कम्पनीहरुको दाबी छ। आन्तरिक उडानमा बढी उडान गरिरहेका बुद्ध एयर, यति एयरलाइन्स र श्री एयरलाइन्सले यात्रुको आउजाउ राम्रो भएको बताएका छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको आवागमन राम्रो हुँदा उडान थप गर्न लागेको बताएको छ।
सरकारले असोज १ देखि नै लामो दूरीको सार्वजनिक यातायात खोले पनि ५० प्रतिशत थप भाडा लिन पाउने व्यवस्थाले यात्रु हवाइ यात्रामा आकर्षण भएको हुनसक्ने वायुसेवा कम्पनीले बताएका छन्।
‘हवाइको भाडा एकदम न्यून रहेको अवस्थामा बसको भाडा बढेको छ। हवाइ यात्रा गर्दा छिटो पनि पुगिने र स्वास्थ्य सुरक्षामा पनि धेरै ध्यान दिएको हुँदा हवाइ यात्रु बढेको’ एयरलाइन्सको भनाइ छ।
आन्तरिक उडानमा सबैभन्दा धेरै बजार हिस्सा भएको बुद्ध एयरले हाल २१ उडान गर्दै आएको थियो। यति एयरलाइन्ले शतप्रतिशतसम्म यात्रु हुने गरेको बताएको छ।
यती एयरलाइन्सका बजार प्रबन्धक अनिल मानन्धरले भोलिबाट १५ वटा उडानको अनुमति माग गरेको बताए।
एयरलाइन्स कम्पनीले अहिले नाफा कमाउने समयभन्दा पनि कम्पनीको अस्तित्व जोगाउन हवाइ भाडा कम गरेको उनले बताए। आन्तरिक उडानमा यात्रुको चाप राम्रो हुँदा कोभिड १९ का करण ठूलो मारमा परेका कम्पनीलाई ठूलो राहत मिलेको उनको भनाइ छ।