कोभिड–१९ विश्वव्यापी सङ्क्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अलपत्र परेका हालसम्म ८० हजार १६ नेपाली नागरिक हवाई जहाजमार्फत स्वदेश फर्किएका छन् ।
कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार शनिबारसम्म ३२ मुलुकबाट उक्त सङ्ख्यामा नागरिक मुलुक फर्केका हुन । मुलुक फर्कनेमा सबैभन्दा बढी संयुक्त अरब इमिरेट्सबाट २३ हजार २ सय ३७ छन् भने सबभन्दा कम श्रीलङ्काबाट पाँच जना रहेका छन् । उनीहरु अधिकांश रोजगारीका लागि र केही अध्ययन, तालिम प्रशिक्षण, उपचार र परिवारिक भेटघाटका सिलसिलामा ती मुलुकमा पुगेका थिए ।
केन्द्रका अनुसार हालसम्म साउदी अरेबियाबाट १२ हजार ३ सय ८१, मलेशियाबाट ११ हजार ६ सय ५१, कतारबाट ११ हजार १ सय ५०, कुवेतबाट ८ हजार ४ सय ७८, जापानबाट १ हजार ७ सय ५४, दक्षिण कोरियाबाट १ हजार ४ सय ४७, ओमनबाट १ हजार ३ सय २५, बहराइनबाट १ हजार २ सय ७४, अष्ट्रेलियाबाट १ हजार ९१, टर्कीबाट ९ सय ३६, बङ्गलादेशबाट ८ सय ८८, माल्दिभ्सबाट ८ सय ५३, सिङ्गापुरबाट ५ सय ५५, अमेरिकाबाट ४ सय ३०, चीनबाट ३ सय ३३ र जोर्डनबाट ३ सय १७ नेपाली स्वदेश फर्केका हुन् ।
स्वदेश फर्कनेमा प्रदेश नं १ का १४ हजार ६ सय ११, प्रदेश नं २ का १२ हजार ३, वाग्मती प्रदेशका १८ हजार २ सय ६४, गण्डकी प्रदेशका ९ हजार ३०, प्रदेश नं ५ का ११ हजार ६ सय ११, कर्णाली प्रदेशका १ हजार ५ सय २५ र सुदूरपश्चिम प्रदेशका १ हजार ७ सय ४५ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ११ हजार २ सय २७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ ।