सबै संक्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ जिल्लामा सक्रिय कोरोना संक्रमित शून्य भएका छन् ।
जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट संक्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना संक्रमणमुक्त जिल्ला भएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा हालसम्म १ हजार ५ सय ७५ जनाको पिसीआर परीक्षण गर्दा २१ जनालाई कोरोना पोजिटिभ देखिएको थियो । विभिन्न समयमा संक्रमण देखिएका सबैजना उपचारपछि घर फर्किसकेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले बताए ।
पछिल्लो समय विभिन्न स्थानीय तहमा पिसीआर परीक्षण जारी रहे पनि संक्रमित देखा परेका छैनन् । हालसम्म दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट ६ सय ४० जनाको पिसीआर परीक्षणमा पठाइएकामा १३ जनाको रिपोर्ट पोजिटिभ आएको थियो ।
नगरपालिकामा देखिएका संक्रमितमध्ये सात जना नेपाल प्रहरीका जवान रहेका छन् । यस्तै हलेसी तुवाचुङ नगरपालिकामा २ सय ५३ जनाको पिसीआर परीक्षण गर्दा चार जनाको पोजिटिभ रिपोर्ट देखिएको थियो ।
दिप्रुङ चुइचुम्मा गाउँपालिकामा १ सय ४६ जनाको पिसीआर परीक्षण गर्दा एक जना, साकेला गाउँपालिकामा १ सय १२ जनाको पिसीआर परीक्षण गर्दा एक जना, ऐसेलुखर्क गाउँपालिकामा ७३ जनाको परीक्षण गर्दा एक जना र बराहपोखरी गाउँपालिकामा ५७ जनाको परीक्षण गर्दा एक जनालाई पोजिटिभ देखिएको थियो । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा हालसम्म खोटेहाङ, रावाबेँसी र जन्तेढुङ्गा गाउँपालिकामा कोरोना संक्रमित फेला परेका छैनन् ।