विना अक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको शेर्पा समुदायको परम्पारगत विधि अनुरूप काठमाडौमा अन्तिम संस्कार गरिएको छ । उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ ।
उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरे । सुरक्षाकर्मीहरुले शेर्पाप्रति सलामी अर्पण गरे । उनको सोमबार बिहान १० बजे आफ्नै निवास काठमाडौँको जोरपाटीमा निधन भएको थियो ।
उनले सन् १९८३ देखि सगरमाथाको आरोहण शुरु गरेका थिए । सन् १९९६ मा विनाअक्सिजन सगरमाथामा पाइला टेकेका शेर्पाको त्यो अन्तिम आरोहण थियो । सर्वोच्च शिखर सगरमाथा मात्रै नभई विनाअक्सिजन नै पाकिस्तानको माउन्ट केटु तथा नेपालका चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धौलागिरिलगायत दर्जनौँ हिमालको उनले पटकपटक आरोहण गरेका छन् ।