गायिका विष्णु माझीको पारिश्रमिक दुई लाख पुगेको छ । विष्णुले ‘झुम्का झलक्कै’ गीतमा नेपालमा सर्वाधिक पारिश्रमिक दुई लाख रुपैयाँ लिएर गीत गाएकी हुन् । उक्त गीतमा विष्णुसँगै शनी विश्वकर्माको स्वर छ । शनी गायन प्रतियोगिता ‘नेपाल लोक स्टार’का विजेता हुन् । उनको यो पहिलो गीत हो ।
“विष्णु दिदीले डेढलाख बाट बढाएर दुईलाख पारिश्रमिक बनाए पछि गाएको यो पहिलो गीत हो,” शनीले भने । महङ्गो पारिश्रमिक लिएर गाउने उनले यसअघि डेढलाख पारिश्रमिक लिँदै आएकी थिइन् । तर उनले डेढलाख बाट बढाएर पारिश्रमिक दुईलाख पुर्याएपछि विष्णुलाई केही समय गाउन कसैले पनि अफर गरेको थिएन । एक वर्ष अगाडि गायक हेमन्त शर्माको गीत ‘बनमारा’ गाउँदासम्म विष्णु एकलाख पारिश्रमिक लिन्थिइन् ।
त्यसपछि केही गीतमा डेढ लाख पारिश्रमिक लिएकी उनले अहिले बढाएर दुई लाख पुयार्एकी हुन् । दुई वर्ष अगाडि ‘सालको पात’ गीत लोकप्रिय भएपछि उनले आफ्नो पारिश्रमिक अस्वाभाविक रुपमा बढाएको संगीतकर्मीहरु बताउँछन् । विष्णु सामाजिक सञ्जाल र सञ्चारमाध्यमबाट टाढै रहेकी गायिका हुन् ।
उनी रेकर्ड गर्न स्टुडियो निस्किने बाहेक अन्य कामका लागि निस्किन्न् । स्टुडियोमा पर्दा लगाएर गीत गाउने उनी प्रायः कसैसँग बोल्दिनन् । “डोयट् गीत भए पनि हामीले एक्ला एक्लै गीत गायौं । तर म उहाँले गीत गाउँदा स्टुडियोमै थिएँ,” शनी भन्छन्, “उहाँले गीत गाउने टेक्निक भने मैले पनि देखेँ ।” विष्णु स्टुडियोमा आएर एक घण्टा गाउने गीतको डेमो सुन्छिन् । अर्को एक घण्टा गाउने अभ्यास गर्छिनर र अर्को एक घण्टा लगाएर रेकर्ड गर्छिन् ।