लागुऔषधको मामलामा दीपिका पादुकोणको नाम आएपछि बलिउडमा हल्लीखल्ली मच्चिएको छ ।
बलिउडको यी टप अभिनेत्रीको नाम कसैले लागुऔषधसँग जोड्छन् भन्ने सायदै कल्पना पनि गरिएको थिएन । लागुऔषधको विवादमा दीपिकाको नाम नयाँ भए पनि अन्य विषयका विवादमा भने दीपिकाको चर्चा बलिउडमा राम्रै भएको छ । यसअघि जेएनयू भ्रमणलाई लिएर उनी सामाजिक सन्जालमा ट्रोल नै भएकी थिइन् । दीपिकासँग जोडिएका पाँच यस्ता विवाद छन्, जुन विवादलाई मानिसले दीपिका पादुकोण भन्नासाथ सम्झन्छन ।
जेएनयूका विद्यार्थीहरुमाथि भएको आक्रमणको समय दीपिका दिल्लीमा आफ्नो फिल्म ‘छपाक’को प्रमोसनमा थिइन् । त्यही समयमा उनी जेएनयू पुगिन र त्यहाँ बिना कुनै शब्द उनले विद्यार्थीहरुको समर्थन गरिन् । दीपिका त्यो समयमा जेएनयू गइन्, जुन समयमा सीएएको विरोध चरम सीमामा पुगेको थियो । जहाँ कैयौं मानिसले उनको समर्थनको लागि धन्यवाद दिँदा केहीले भने दीपिकाको प्रसारप्रसार स्टन्ट भनेका थिए ।
सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘पद्यावत’को समयमा पनि दीपिकाले विरोधको सामना गर्नुपर्यो । रानी पद्यिनीको भूमिकाबाट प्रभावित फिल्ममा दीपिकाले शीर्ष भूमिकामा अभिनय गरेकी थिइन् ।
त्यो समयमा करणी सेनाले यसको विरोध गरेको थियो । करणी सेनाले रानी पद्यिनीको भूमिका फिल्ममा गलत तरिकाले देखाइएको भन्दै विरोध जनाएको थियो । करणी सेनाले दीपिकालाई फिल्म रिलिज भएमा दीपिकाको नाक काटिदिनेसम्मको धम्की दिएको थियो । त्यहीकारण फिल्मको नाम ‘पद्मावती’लाई परिवर्तन गरेर ‘पद्मावत’ बनाइएको थियो ।
फिल्म ‘गोलियों की रासलीला राम लीला’को विवाद पनि कम थिएन । फिल्मको वास्तविक नाम ‘राम लीला’ थियो । भगवान श्री रामसँग नाम मिलेको भन्दै फिल्मको नामलाई लिएर जालंधर प्रहरीले संजयलीला भंसाली, रणवीर सिंह र दीपिका पादुकोणका विरुद्ध एफआईआर नै दर्ता गराएको थियो । त्यसपछि फिल्मको नाम बदलेर ‘गोलियों की रासलीला राम लीला’ राखियो । त्यो बेला भन्सालीले फिल्म विलियम शेक्सपियरको ‘रोमियो–जूलियट’बाट प्रेरित हो भनेर सफाई नै दिनुपरेको थियो ।
एक चर्चित अनलाइनले दीपिकाको केही तस्बिर पोस्ट गरेको थियो, जसमा उसले अभिनेत्रीको क्लीवेजलाई बढी प्राथमिकता दिएको थियो । जब ती तस्बिर भाइरल भए, मानिसहरुले दीपिकामाथि किसिम–किसिमका कमेन्ट गरेका थिए । आफूमाथि धेरै प्रतिक्रिया आएपछि दीपिकाले ‘हो म महिला हुँ । मेरो स्तन छ र क्लीवेज छ । तपाईंलाई कुनै समस्या’ भन्दै ट्वीट नै गरेकी थिइन् ।
फिल्म ‘दम मारो दम’मा दीपिकाको आइटम नम्बर ‘दम मारो दम’ पनि विवादमा मुछियो । दीपिकाले यो गीतमा नृत्य गरे पनि मानिसहरुले गीतको शब्दमा आपत्ति जनाएका थिए । यो गीत देव आनन्द र जीनत अमानको फिल्म ‘हरे रामा हरे कृष्णा’को ‘दम मारो दम’बाट लिइएको थियो ।