पशुपतिनाथ मन्दिर दर्शन खुला गर्ने तयारी गरिएको छ ।
कोरोना भाइरसको महामारी फैलिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर दर्शनका लागि खुला गर्ने गरी तयारी पशुपति क्षेत्र विकास कोषले गरेको छ ।
दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको कोषले बताएको छ ।
अब मुलुक बिस्तारै कोभिड-१९ को त्रासबाट माथि उठ्दै गरेको र सार्वजनिक सवारी साधन पनि चल्न थालेको अवस्थामा स्वास्थ्य सुरक्षासम्बन्धी प्रोटोकल बनाएर पशुपतिनाथको दर्शन खुला गर्ने गरि तयारी भएको बुझिएको छ ।
दुई/दुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिने भएको छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोका खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले बताए ।
मन्दिरभित्र प्रवेश गरेपछि पूरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने उनले बताए ।
पशुपतिनाथ मन्दिरमा १० चैतपछि नियमित पूजा बन्द गरिएको छ । सन्ध्या आरती समेत बन्द रहेको छ ।