सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्नियुक्ति गर्न कानुनी अड्चन रहेको बताएका छन् ।
प्रेस सङ्गठनले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवलीले कुलमानलाई पुनर्नियुक्ति गर्न कानुनी अड्चन भएको तर सरकार भने सकारात्मक रहेको बताए । उनले देशको हित र कार्यक्षमताका आधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने जानकारी दिए ।
नेपाललाई लोडसेडिङमुक्त बनाउन कुलमानको भूमिका महत्वपूर्ण रहे पनि उनको एक्लो प्रयासले मात्र नभई सरकारको लगानी र सम्पूर्ण टिमको योगदानको कारण सम्भव भएको ज्ञवालीले बताए।
मन्त्री ज्ञवालीले घिसिङको नियुक्तिमा उर्जा मन्त्री वर्षमान पुन र प्रधानमन्त्रीबीच असन्तुष्टि बढेको भनी बाहिर आएका समाचारमा पनि कुनै सत्यता नभएको बताए।
सरकारका प्रवक्ता ज्ञवालीले मन्त्रिमण्डल फेलबदल र पुनर्गठन सरकारको नियमित प्रक्रिया भएको बताउँदै मन्त्रिमण्डल पुनर्गठन हुनेतर्फ संकेत गरे। ‘प्रधानमन्त्रीलाई कस्तो टिमसँग काम गर्दा काम सहज र सफल हुन्छ भन्ने लाग्छ त्यस्तो व्यक्तिलाई सरकारमा राख्नु स्वभाविक हो, पुनर्गठन हुँदापनि कार्य मूल्यांकनका आधारमा हुन्छ’ उनले भने।
फरक प्रसङ्गमा परराष्ट्रमन्त्री ज्ञवालीले एमसीसी परिमार्जन सहित पारित हुनेमा ढुक्क रहेको बताए । ‘कहाँ कहाँ परिमार्जन गर्नुपर्ने हो, त्यो हुन्छ र एमसीसी पारित हुन्छ’, उनले भने ।