सरकारले असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने निर्णय गरेपनि निजी वायुसेवा सञ्चालक संघले तत्काल उडान सञ्चालन नगर्ने बताएको छ ।
संघले नागरिक उड्ययन प्राधिकरणबाट भएको निर्देशन पालना गरी नियमित उडान सञ्चालन गर्न तयार रहेतापनि ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको बताएको छ ।
वायुसेवा संचालक संघ नेपालका प्रथम उपाध्यक्ष अनोज रिमालले आज एक विज्ञप्ती जारी गर्दै ५० प्रतिशत यात्रु मात्र लिएर उड्नु पर्ने व्यवस्था सम्वन्धमा यस संघमा आवद्ध सबै वायुसेवाहरुको असहमति रहेकाले तत्काल उडान संचालन गर्न असमर्थ रहेको जनाएका छन् ।
उनले छिमेकी मुलुक भारत लगायत विश्वका अन्य मुलुकमा समेत आन्तरिक उडानमा सामाजिक दुरी राखेर ५० प्रतिशत मात्र यात्रु वोक्ने व्यवस्था नभएको, ५० प्रतिशत मात्र यात्रु लानु पर्ने अवस्थामा हवाई टिकटको मुलय दोब्बर पर्न जाने यात्रुले उक्त रकम तिर्न नसक्ने बताएका छन् ।