सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भई बुधबार बिहानै गएको भूकम्पको धक्का २०७२ सालकै भूकम्पको परकम्प भएको भूकम्पविद्ले जानकारी दिएका छन्।
बिहान पाँच बजेर १९ मिनेटमा सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भई ६ म्याग्निच्यूडको भूकम्प गएको हो।
भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले आज बिहान गएको भूकम्प २०७२ सालकै भूकम्पको परकम्प भएको जानकारी दिए।
२०७२ साल वैशाख १२ गते गएको ७.८ म्याग्निच्यूडको शक्तिशाली भूकम्पपछि पाँच वर्षदेखि नै पराकम्पहरु आइरहेका छन्।
यो भूकम्प काठमाडौं उपत्यकामा लगायत पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा समेत महसुस गरिएको छ । सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा पोखरा, चितवन लगायत देशका विभिन्न भागमा धक्का महसुश भएको भन्दै प्रयोगकर्ताहरुले ट्विट तथा स्टाटस लेखेका छन् । यसले केन्द्रबिन्दु आसपास क्षति गरेको बुझिएको छ । तर क्षतिको विवरण अहिलेसम्म सार्वजनिक भएको छैन ।
लामो समयपछि नेपालमा ६ रेक्टरस्केल भन्दा ठूलो भूकम्प गएको हो । यसअगाडी ४ रेक्टर स्केलका भूकम्पहरु गइरहेका थिए ।