निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडा सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्त भएका छन् ।
पछिल्लो मन्त्रिपरिषद् बैठकले खतिवडालाई मन्त्रीस्तरीय सेवा सुविधा पाउने गरी खतिवडालाई सल्लाहकार नियुक्त गरेको हो ।
आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री समेत रहेका सरकारका नवनियुक्त प्रवक्ता प्रदिप ज्ञवालीले सोकुराको जानकारी गराएका हुन् ।
डा. खतिवडाले केही दिनअघि मन्त्री पदबाट राजीनामा दिएका हुन् । राष्ट्रियसभामा दुई वर्षका लागि मनोनित भएका खतिवडाको समय सकिएपछि उनी ६ महिना गैर सांसदको रुपमा मन्त्री बनेका थिए ।
सरकारले रिक्त राष्ट्रियसभाको एक सिटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई मनोनित गर्ने निर्णय गरेपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए ।