काठमाडौँका असन, इन्द्रचोकलगायतका भित्री वस्तीलाई व्यवस्थित बनाउन त्यस क्षेत्रमा फुटपाथ पसल हटाउने अभियान शुरु गरिएको छ ।
वस्ती वरपरका स्थानमा पछिल्लो समयमा बढ्दै गएको फुटपाथ पसलले सवारी आवागमनका साथै पैदलयात्रुलाई समस्या परेपछि जागरुक युवा समाजले अभियान थालेको हो ।
सार्वजनिक बाटो ओगटेर राखिएका यस्ता पसलले भीडभाड बढ्न गई वस्तीको सौन्दर्यता कमी आउने, विभिन्न रोगका सङ्क्रमणको जोखिम थपिने र व्यापारिक कारोबारमा कर चुहावट हुने भएकाले अभियान शुरु गरिएको बताइएको छ । स्थानीय युवाको सक्रियता रहेको अभियानले स्थानीय तह, सुरक्षाकर्मीलगायतसँग समन्वय गरी सम्पदामाथिको अतिक्रमण निरुत्साहित गर्ने, प्राचीन महत्वका स्थल तथा ऐतिहासिक वस्तुको संरक्षण गर्ने लक्ष्य राखेको छ ।
जिल्ला प्रशासन कार्यालयले भदौ २४ गते जारी गरेको आदेशमा ‘फुटपाथ पसल र ठेला व्यापार’ खुल्ला गर्ने भनेपछि भित्री वडाहरुले, आफ्नो वडामा यस प्रकारका गतिबिधि सञ्चालन गर्न नदिने सूचना प्रकाशन गरेका छन् । त्यसैगरी जनप्रतिनिधिहरुले आफ्ना सामाजिक सञ्जालमार्फत फुटपाथ र ठेला व्यापार सञ्चालन गर्न नदिने जानकारी दिइरहेका छन् ।