गर्मी मौसममा प्राय सबैको प्रिय पेयपदार्थ हो लस्सी । हामी कतै घुम्न निस्किंदा वा अफिसको कामले थाकेको बेला चिसो लस्सी पिउनुको मज्जा नै बेग्लै हुन्छ । स्वास्थ्यका दृष्टिकोणले पनि अन्य प्याकिङ चिसो पदार्थ भन्दा लस्सी उपयुक्त हुन्छ ।
हरेक ताजा सामान प्रयोग गरेर बनाउन सकिने भएकाले पनि बालबालिकादेखि वृद्धवृद्धासम्मले लस्सी खान सक्छन् । घरमै सजिलैसँग बनाएर खान पनि सकिन्छ । यसका लागि घरमा मिक्स्चर भने अनिवार्य हुनैपर्छ । आइसका लागि फ्रिज पनि आवश्यक पर्छ । तर, आइस त नजिकको पसलतिरबाट पनि जुटाउन सकिन्छ । आज हामी तपाईंलाई घरमै कसरी लस्सी बनाउन सकिन्छ भन्ने बारेमा जानकारी दिन लागिरहेका छौं ।
आवश्यक सामग्री
शुद्ध दही २ कप, चिनी ३ चम्चा, सुकमेल पाउडर १ चिम्टी (यो उपलब्ध छैन भने नराख्दा पनि फरक पर्दैन), आइस २ क्युब (आफूलाई जति चिसो खान मन लाग्छ, त्यहीअनुसार राख्न सक्नुहुन्छ), किसमिस २–३ वटा, नरिवल चप गरेको ३–४ टुक्रा, छोकडा चप गरेको ३–४ टुक्रा, काजु २–३ पिस ।
बनाउने विधि
मिक्स्चर तयार गर्ने । मिक्स्चरको जगमा दही, चिनी, आइस, सुकमेल पाउडर सबै राख्ने । अब मिक्स्चर चलाइदिने । दुई मिनेटजति मिक्स गरेपछि लस्सी तयार हुन्छ । यसलाई गिलासमा खन्याउने र माथिबाट किसमिस, नरिवल, छोकडा र काजु राख्न सक्नुहुन्छ । यो मसलाले लस्सीको टेस्ट अझै मिठो बनाउँछ ।
यो त सामान्य स्विट लस्सी बनाउने कुरा भयो । आफूलाई फरक–फरक फ्लेवरको लस्सी खान मन लाग्छ भने पनि बनाउ सक्नुहुन्छ । यसका लागि उक्त फ्लेवरको सामान पनि दहीलगायत तिनै सामग्रीमा सँगै राखेर मिक्स गर्ने हो । बनाना फ्लेवरको लस्सी अधिकांशले रुचाएको पाइन्छ । यसका लागि एउटा केरा मिसाउन सक्नुहुन्छ ।
त्यस्तै स्ट्रबेरी, भेनेला, आँपलगायत फ्लेबर पनि रुचाइन्छ । घरमा यस्ता फलफूल उपलब्ध छन् भने यिनैको फ्लेवरका लस्सी तयार पार्न सक्नुहुन्छ । लस्सीले गर्मीमा शीतलता मात्रै दिने होइन, शरीरमा शक्ति पनि दिन्छ ।