धनुषाको हंसपुर नगरपालिका प्रसाहीका १६ वर्षीय राजु सदाले अस्पतालको आइसोलेसन वार्डको भुइँमा छठपटाउँदै ज्यान गुमाए । स्वास्थ्यकर्मी, चिकित्सक कसैले हेरेनन् । आइसोलेसन अस्पतालभित्रै राजु सदा सदाका लागि अस्ताए ।
झण्डै एक वर्षअघि रोजगारीको खोजीमा भारतको अहमदावाद पुगेका राजु कोरोनाको संक्रमण रोक्न भारतमा लकडाउन भएपछि उनी समस्यामा परेर नेपाल आएका थिए ।
एक साता हिँडेर उनी ३ जेठमा प्रसाही आइपुगे । कोरोना संक्रमण फैलिएको क्षेत्र भारतबाट आएका कारण उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टिनमा राखे । तर लामो समयसम्म कोरोना परीक्षणका लागि स्वाब समेत संकलन गरिएन । त्यही ज्यान गुमाउनु पर्यो । उक्त घटना छानविनका लागि समिति समेत बन्यो ।
गत बैशाख १८ गते ज्वरो आएको कारण विराटनगरका अस्पतालले भर्ना लिन नमान्दा सुनसरीको देवानगञ्ज–१ का २७ वर्षीय रवीन्द्र यादवको मृत्यु भयो ।
विराटनगरको कोशी अस्पतामा भर्ना गरिएका उनलाई भेन्टिलेटर आवश्यक पर्ने भएपछि अन्यत्र रेफर गरिएको थियो । रवीन्द्रलाई ज्वरो आएकोले विराटनगरस्थित कुनै पनि अस्पतालले भर्ना नगरेपछि उनको मृत्यु भयो ।
विराटनगरका कुनै पनि अस्पतालले भर्ना नलिएपछि दिउँसो १२ बजेतिर एम्बुलेन्स खोजेर परिवारले रवीन्द्रलाई धरान लगेको थियो । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनले दम तोडे ।
कोरोना कालमा मात्रै उपचार नपाएर कयौं संक्रमितले ज्यान गुमाए । यसरी ज्यान गुमाउने अन्य रोगबाट पीडितको संख्या पनि उल्लेख्य छ । श्रमिकले खान नपाएर ज्यान गुमाइरहेका छन् । बहाल तिर्न नसकेर सडकमा निस्केका नागरिकहरु दैनिक भेटिन्छन् । यस्तो बेला मेयरलाई कोरोना संक्रमण हुँदा पाँच तारे होटेलको आइसोलेसनमा ? जनताले प्रश्न गर्न थालेका छन्।
साउन २८ गते कोरोना संक्रमणका कारण मृत्यु भएका नेपाल विद्युत प्राधिकरणका कर्मचारी सिताराम दाहालकी छोरी निलिमा दाहालले लापरबाहीले आफ्नो बुबाले अकालमा ज्यान गएको भन्दै घटनाको छानविन गर्न र दोषीलाई कारबाही गर्न माग गर्दै उच्च अदालत विराटनगरमा रिट निवेदन दर्ता गरिन् ।
छोरी निलिमा दाहालको रिट निवेदन अनुसार विद्युत सुचारु गर्नु पर्ने जिम्मेवारीका कारण नियमित कार्यालयको काममा संलग्न रहने क्रममा कोरोना संक्रमण भएपछि साउन २६ गते उनलाई कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।
लगत्तै सामाजिक दुरी कायम गरी संक्रमित दाहाललाई भेट्न अस्पताल जाँदा स्वास्थ्यकर्मीले केही हुँदैन बुवाको अवस्था सामान्य छ भनेका थिए । २८ गते दिउँसो १२ बजे भेट्न जाँदा कसैले पनि वास्ता नगरेको, स्वास्थ्यकर्मीहरुले कुनै सोधिखोजी नगरेको र उपचार अभावमा स्वास्थ्य असामान्य भएको बुवाले बताएको रिट निवेदनमा उल्लेख थियो।
बुटवलका ६७ वर्षीय एक पुरुषलाई ज्वरो र श्वासप्रश्वासको समस्या आएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगियो। मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका कोरोना संक्रमित उनलाई तत्कालै आइसियूमा राखेर उपचार गर्नुपर्ने थियो ।
तर विडम्बना, बुटवलको कोभिड अस्पतालमा आइसियु थिएन । चिकित्सकले चितवन रेफर गरे । परिवारले एम्बुलेन्स खोजे, पाएनन्। केही सीप नलागेपछि प्रादेशिक अस्पतालकै फिबर क्लिनिकमा उनको उपचार थालियो। उपचारकै क्रममा दिउँसो उनको मृत्यु भयो ।
त्यस्तै गैडहवाका एक संक्रमित पुरुषको भीम अस्पतालमा मृत्यु भयो । घरको छतबाट खसेका उनलाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजले भीममा रेफर गरेको थियो । उनको अवस्था गम्भीर थियो तर आइसियू नहुँदा आइसोलेसन वार्डमै राखियो। सोही राति उनको मृत्यु भयो।
यी त प्रतिनिधि घटना मात्रै हुन्। सञ्ञ्चार माध्यममा सार्वजनिक भएका घटना मात्रै यसको तेब्बर छन् । अझैं सार्वजनिक नभएका घटना त दर्जनौं । यी विवरण कोरोना कालका मात्रै हुन् । यो अवधिमा उपचार नपाएर अन्य रोक लागेका बिरामीले समेत ज्यान गुमाएका छन् । खान नपाएरर पनि मान्छे मरेका छन्। कतिपयले कुनै विकल्प नदेखेपछि आत्मह(त्या गरेका छन्। यस्ता घटनाको विवरण धेरै छ ।
मेयरलाई सोल्टीको आइसोलेशन
सर्वसाधारणले उपचार नपाएर ज्यान गुमाए पनि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य कोरोना संक्रमण भएपछि होटल सोल्टीको आइसोलेसनमा बसे । मेयर शाक्य परिवारसहित पाँच तारे होटलको आइसोलेसनमा बसे । उनी मात्रै होइन शाक्यसँग पत्नी, छोरीलगायत परिवारका सदस्य पनि छन् । भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि मेयर शाक्य सोल्टीको आइसोलेसनमा बसेका हुन्। सुविधासहितको ३–४ कोठा लिएर उनी बसे।
दैनिक करिब ७५ हजार रुपैयाँ खर्च
होटल स्रोतका अनुसार झन्डै २० हजार रुपैयाँ शुल्क लाग्ने कोठामा चिकित्सकीय सुविधासहित बसेका शाक्यले प्रतिदिन २५ हजारभन्दा बढी शुल्क तिरे । कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार मेयर शाक्यको परिवारले लिएको तीनवटा कोठा र चिकित्सकीय सुविधासहित दिनको ७५ हजार हाराहारीमा खर्च हुन्छ ।
उनी सोमवार कोरोना मुक्त भएर घर फर्किसकेका छन् । भदौ १५ गते कोरोना पुष्टि भएको मेयर २८ गते घर फर्किए । यस हिसाबले दैनिक ७५ हजारका दरले १३ दिनको झण्डै १० लाख रुपैयाँ हुन्छ ।
त्यतिका धेरै खर्च महानगरपालिकाले बेहोर्छ कि मेयर शाक्य आफैंले तिर्छन् भन्ने बारे भने केही खुलेको छैन । महानगरपालिकाले नागरिक स्तरबाट आलोचना हुने भन्दै शाक्यको होटल बासबारे बताउन चाहेन ।
कोरोना महामारीका कारण लामो समय भएको लकडाउने श्रमजीवी वर्ग खान नपाएर मर्ने अवस्था छ । केहीले ज्यान समेत गुमाए। कयौं बहाल तिर्न नसकेर सडकमा बास बस्नुपर्ने अवस्थामा पुगेका छन्। उपचार नपाएर दर्जनौंले ज्यान गुमाएका छन्। महानगरमै सबैभन्दा बढी श्रमिक पीडित छन्। तर जनताको यस्तो अवस्था हुँदा समेत मेयरलाई कोरोना संक्रमण हुँदा पाँच तारे होटेलको आइसोलेसन? जनताले प्रश्न गर्न थालेका छन्।