काठमाडौं महानगरपालिकाले जिल्ला प्रशासन कार्यालयसमक्ष ‘फुटपाथ र ठेलागाडा व्यापार’ मा पूर्ण प्रतिबन्ध लगाउन गरेको मागप्रति पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विरोध जनाएका छन्।
सामाजिक सञ्जालमार्फत डा. भट्टराईले कोरोनाले धनी र गरिब नभन्ने उल्लेख गर्दै ‘भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन’ भनेर टिप्पणी गरेका हुन् ।
तरबार बेच्ने र घिउ बेच्नेको महिनौंदेखिको गलफत्ति युद्धविराममा टुंगिएछ! युद्धविराम युद्धको अन्त्य हुँदैन नयाँ युद्धको तयारी हुन्छ!केही समय कसले कसलाई ठग्यो वहस हुनेछ।जनताका एजेण्डा कतै सुनिएन,सुनिनेछैन!छिटै अर्को राउण्डको छलछाम शुरू हुनेछ।जसले जसलाई ठगे पनि अन्तमा जनतै ठगिने हुन्!
— Baburam Bhattarai (@brb1954) September 11, 2020
‘अनौपचारिक व्यवसाय (फुटपाथ पसल र ठेला व्यापार) हाम्रोजस्तो प्रारम्भिक सहरीकरण र औद्योगीकरण भइरहेको समाजका लागि अभिन्न अंग हुन्। कोरोनाले धनी र गरीब भन्दैन,’ डा. भट्टराईले ट्विट गरेका छन्, ‘भाटभटेनीको भीडभाडमा कोरोना नलाग्ने तर फुटपाथ र ठेला पसलमा लाग्ने भन्ने हुँदैन। यिनलाई हटाउने हैन, व्यवस्थापन गर्ने र क्रमश: अन्य व्यवसायमा रूपान्तरण गर्दै जाने हो।’
सबैतिर मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच २ मिटरको दूरी कायम गर्ने तथा बेलाबेला साबुनपानीले हात धुने गरेर कोरोनासँगै बाँच्न सिक्नपर्ने सुझाव पनि उनले दिएका छन्।