आइतबारदेखि सवारीचालक अनुमति पत्र (लाइसेन्स)को नवीकरण गर्ने कार्य सुरु हुने भएको छ।
यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र ललितपुरले बिहिबार सूचना जारी गर्दै आइतबारदेखि सवारीचालक अनुमति पत्र नवीकरणको काम शुरु गर्ने जानकारी दिएको हो।
त्यस्तै अन्य सेवाहरु भने कार्यालयले अर्को सूचना सार्वजनिक नगरेसम्म स्थगित गरेको उल्लेख गरिएको छ।
बाग्मती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्र शाखा ललितपुरले बिहीबार सूचना जारी गर्दै आगमी २८ भदौबाट लाइसेन्स नवीकरण कार्य सुरु हुने जनाएको छ । यसबाहेक अन्य सेवा भने अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ ।
यसअघि, काठमाडौं उपत्यकामा तीन जिल्ला प्रमुख अधिकारीले निषेधाज्ञा जारी गर्नुअघि नै अत्यधिक भीडभाड बढेको भन्दै लाइसेन्स वितरण कार्य बन्द गरिएको थियो ।
सरकारले ११ चैत २०७६ देखि चार महिना लकडाउन ग-यो । त्यसपछि केही समय खुल्ला गरिए पनि पुनः गत ३ भदौदेखि तीन जिल्लामा निषेधाज्ञा जारी गरियो । चैतदेखि लामो दुरीका सवारी साधनसमेत सञ्चालनमा रोक लाग्दै आएको छ ।
लकडाउन र निषेधाज्ञाका कारण लाइसेन्सको म्याद सकिएकाको हकमा जरिवाना छुटसम्बन्धी अहिलेसम्म कुनै निर्णय भएको छैन । ‘लाइसेन्सको म्याद सकिएकाको हकमा अलिकति समस्या छ,’ कार्यालय प्रमुख भट्टराईले भने, ‘यो मन्त्रालयबाट निर्णय भएर आउने आशामा छौं ।’
सर्वसाधारण तथा सरोकारवालाले ११ चैतपछिको लकडाउन अवधिमा लाइसेन्सको म्याद सकिएकाले जरिवाना मिनाहा गर्नुपर्ने बताएका छन् । मन्त्रालयले यससम्बन्धी निर्णय नगरेकाले यातायात कार्यालय भने अलमलमा छन् ।
यता, लकडाउन अवधिमा प्रिन्ट गर्नुपर्ने नयाँ लाइसेन्स थप नभएकाले यसअघि प्रिन्ट गर्न बाँकी सबै स्मार्ट लाइसेन्स लकडाउन अवधिमा सकिएका छन् । अब लाइसेन्सको परीक्षा खुलाएपछि आउने लाइसेन्स र नवीकरणका लागि आउने लाइसेन्समात्र प्रिन्ट गर्नुपर्ने भएपछि सर्वसाधरणले चाँडै लाइसेन्स पाउने भएका छन् । यसअघि, प्रिन्ट गर्नुपर्ने लाइसेन्स थुप्रिएर बस्दा दुई वर्षमा पनि लाइसेन्स पाउन सकेका थिएनन् ।