नेपाली भाषा शिक्षक परिषद् कास्कीले सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा मात्र राख्न सर्वोच्च अदालतले हालै जारी गरेको आदेशप्रति आपत्ति जनाएको छ । परिषद्का अध्यक्ष डिल्लीराम अर्यालद्वारा हस्ताक्षरित एक विज्ञप्तिमा सर्वोच्चको उक्त निर्णयले नेपाली भाषालाई निर्मम ढुङ्गले प्रहार गरेर ध्वस्त पार्ने र यसको अस्तित्वलाई धरासायी बनाउन षड्यन्त्रमूलक तरिकाले आएको भन्दै आपत्ति व्यक्त गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “नेपाली भाषा हाम्रो मौलिकता, राष्ट्रियता, संस्कृतिका साथै अस्तित्वको संवाहक हो । भाषाको गरिमालाई नजरअन्दाज गर्दै समय समयमा राष्ट्रियता कमजोर पार्न, जातीय गौरव र संस्कृति मेटाउन तथा विशेषगरी भाषामाथि प्रहार गर्ने काम परचक्रीबाट हुँदै आएको छ, विदेशी आयातित भाषाका आडमा राष्ट्रभाषाका रूपमा रहेको नेपाली भाषामाथि निर्मम ढङ्गले प्रहार गरिँदै आएको इतिहास साक्षी छ ।”
विज्ञप्तिमा नेपालभर सञ्चालन हुने कुनै पनि सवारी साधनका नम्बर प्लेटमा अङ्ग्रेजी भाषा राखिनुको कुनै प्रयोजन र औचित्य पुष्टि हुन नसक्ने जनाउँदै उक्त राष्ट्रघाती फैसलालाई तुरुन्त बदर गरी नेपाली भाषामा नै नम्बर प्लेट राख्ने प्रावधानलाई कडाइका साथ लागु गर्न माग गरिएको छ ।
थरीथरीका नम्बर प्लेट
बजारमा सवारी साधनका नम्बर प्लेटहरु धेरै किसिमका देखिन्छन् । कोही राता कोही सेता त कोही पहेँला । यस्ता धेरै रङ्गका नम्बर प्लेटहरु हुँदा सर्वसाधारणमा यो कुन संस्थाको सवारी हो भन्ने यकिन गर्न पनि गाह्रो छ ।
यसका साथै आम सर्वसाधरणहरुमा सवारी साधन नम्बर प्लेट वितरण तथा नामाङ्कनको प्रक्रिया के हो ? कस्ताे लेख्ने हाे ? भन्ने कुरा बुझ्न गाह्रो नै पर्छ । किनकि अहिले बजारमा सवारी साधनमा आफुखसी नम्बर प्लेट राख्ने होडवाजी व्याप्त छ ।
यी धेरै किसिमका आफुखुसीले बनाएका नम्बरप्लेटले मानिसममा एक प्रकारको दुविधा उत्पन्न गराएको छ । हाल बजारमा सवारी साधनहरुमा १४ किसिमका नम्बर प्लेट जडान भएको यातायात व्यवस्था विभाग बताउँछ । तर, ती सबै नम्बर प्लेटहरु सवारी धनीले आफुखुसी बनाएको स्वयमं विभागका महानिर्देशक गाेगन बहादुर हमाल स्वीर्काछन् ।
एउटै देशमा तीन फरक नम्बर प्लेट
विश्वका कुनै पनि मुलुकमा सवारीसाधनमा प्रयोग हुने नम्बर प्लेटमा एकरूपता र सङ्घीय शासन प्रणाली लागु भएका मुलुकमा समेत प्रदेश सरकारलाई चिनाउने प्रस्ट सङ्केत सहितको एकैखाले नम्बर प्लेट प्रयोग हुन्छ।
तर नेपालका सडकमा गुड्ने यातायातका साधनहरूमा तीन थरीको नम्बर प्लेट देख्न पाइन्छ।
केन्द्रीकृत शासन प्रणाली अन्तर्गतको अञ्चल सङ्केत उल्लेख गरिएको नम्बर प्लेट, प्रदेशको सङ्केत उल्लेख गरिएको नम्बर प्लेट र इम्बोस्ड नम्बर प्लेट गरी तीन थरी नम्बर प्लेट प्रचलनमा रहेका छन्।
जानकारहरूका अनुसार सवारीसाधनको परिचयको दिने प्लेटमा एकरूपता हुनुपर्दछ।
नम्बर प्लेटका कथा
विभागका अधिकारीहरूका अनुसार फरक नम्बर प्लेटको प्रमुख कारण भनेको अदालती फैसलाको ढिलासुस्ती हो।
सरकारले अङ्ग्रेजी भाषामा इम्बोस्ड नम्बर प्लेट लागु गरेपछि सो विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। विभागले नेपालीमा नम्बर प्लेट बनाउने प्रणाली आफूहरूसँग नभएकाले अङ्ग्रेजी भाषामै गर्नुपर्ने बाध्यता रहेको बताएको छ।
अन्तरिम आदेशपछि विभागले पुरानै शैलीमा हस्तलिखित नम्बर प्लेटको वितरण गर्न थालेको हो। विभागका सूचना अधिकारी तीर्थराज खनाल भन्छन्: “यस विषयमा अदालतले निर्णय सुनाएको छैन र हामीसँग कुर्नुको विकल्प छैन।”
वितरण गरिसकेको इम्बोस्ड नम्बर प्लेट फिर्ता लिने कुरो पनि भएन। पुराना नम्बर प्लेटलाई विस्थापन पनि गर्न सकिएन। खनालका अनुसार मुलुकले नयाँ संविधान अपनाएसँगै अञ्चलसम्बन्धी व्यवस्था खारेज भएको र प्रदेश गठन भएका कारण त्यही अनुरूप नयाँ प्रकारको नम्बर प्लेट वितरण गरिएको हो।
उनले भने: “एकातर्फ संविधानले अञ्चल कार्यालय नचिन्ने, अर्कोतर्फ प्रादेशिक संरचना बनेको अवस्थामा हामीले नयाँ नम्बर प्लेट जारी गरेका हौँ।”
अञ्चलबाट वितरण गरिने नम्बर प्लेटमा अञ्चल सङ्केत र गाडीको प्रकारका हिसाबले बीचमा हुने अङ्क १ देखि ९९ सम्म मात्र दर्ता गर्न सकिने व्यवस्था छ।
दुई पाङ्ग्रे सवारीसाधनको दर्ता बढ्दै गएपछि ९९ भन्दा माथि अङ्क थप्न कानुनी बाधा रहेका कारण पनि प्रादेशिक नम्बर प्लेटको अवधारणा अगाडि बढाउनु परेको उनीहरूको भनाइ छ।
खनाल भन्छन्: “वितरण गरिसकेको इम्बोस्ड नम्बर प्लेट फिर्ता लिने कुरो पनि भएन। पुराना नम्बर प्लेटलाई विस्थापन पनि गर्न सकिएन।”