‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथलाई आगामी सोमबार बुङ्मती लगिने भएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषी दैवज्ञ कीर्तिकिरण र पूर्णमङ्गल जोशीले यही भदौ २२ गते निकाल्नुभएको साइतअनुसार यही भदौ २९ गते मच्छिन्द्रनाथलाई बुङ्मती लगिने भएको हो ।
सोमबार १०:०५ देखि १०:२० बजेसम्म लोकेश्वरलाई रथबाट भिक्ने शुभसाइत रहेको दैवज्ञ कीर्तिकिरणले बताए । उनि भन्छन्, “यदि यस समयमा करणामयलाई रथबाट झिक्न सकिएन भने साङ्केतिकरूपमा हल्लाउने मात्रै भए पनि काम हुनेछ, हाल मच्छिन्द्रनाथलाई उतरपट्टि अर्थात् कुपण्डोलतर्फ फर्काएर राखिएकाले बुङ्मती लग्ने दिन १५ देखि २० पाइला पुनः उत्तरतर्फ लगेर अनि मात्र पुल्चोक हुँदै जावलाखेलको बाटो बुङ्मती लानु राम्रो हुनेछ ।” सो दिन लोकेश्वरको सामान्य पूजाआजा गरेर त्यसपछि बुङ्मती लगिनेछ ।
किंवदन्तीअनुसार एकपटक भिक्षा माग्न आएका गोरखनाथलाई कान्तिपुरवासीले नदिएपछि त्यसैको झोकमा उनले पशुपति मृगस्थलीमा नवनागलाई आसन बनाए । यसरी १२ वर्षसम्म वर्षा नभई अनिकाल भएपछि यसको समाधान खोज्दै जाँदा गोरखनाथका गुरु मच्छिन्द्रनाथलाई कान्तिपुर ल्याएमा गोरखनाथ आशनबाट उठी वर्षा र सहकाल हुने थाहा पाएर भक्तपुरका राजा नरेन्द्रदेव, काठमाडौँका राजा बन्धुदत्त बज्राचार्य र ललितपुरका कृषक ललित रथचक्र मिलेर मच्छिन्द्रनाथलाई भारतको कामारुकामाक्षबाट नेपाल ल्याएका थिए ।