बलिउड अभिनेता अक्षय कुमार आज आफ्नो जन्मदिन मनाउदैछन् । अक्षयले फिल्ममा आफ्नो सानदार अभिनयले दर्शकको मन जितिसकेका छन् । अक्षय बलिउडका ती कलाकारमा पर्छन्, जो हरेक भूमिकाबाट चर्चामा आउछन् । कमेडी भूमिका होस् वा भिलेन नै किन नहोस्, उनको लोकप्रियतामा कुनै कमी आएको छैन ।
अक्षय कुमार पहिलोपटक फिल्म ‘खिलाडी ४२०’ मा खलनायकको भूमिकामा देखिएका थिए । यो फिल्ममा उनीसँग अभिनेत्री महिमा चौधरीको अभिनय थियो । सन् २००० मा रिलिज यो फिल्ममा अक्षयको खलनायक भूमिकालाई दर्शकले अत्याधिक मनपराएका थिए ।
सन् २००१ मा रिलिज फिल्म ‘अजनबी’मा अक्षय भिलेनकै भूमिकामा देखिए । फिल्ममा बबी देओल, करिना कपुर र विपाशा बसुको पनि अभिनय थियो । फिल्ममा अक्षय र विपाशा नकारात्मक भूमिकामा थिए । यो फिल्मको निर्देशन अब्बास–मस्तानले गरेका थिए । यही फिल्मका लागि अक्षय कुमारले फिल्म फेयरमा सर्वश्रेष्ठ खलनायकको अवार्ड पाएका थिए ।
फिल्म ‘ब्लू’मा अक्षयको भूमिका दर्शकका लागि उत्तिकै सम्झनायोग्य छ । फिल्ममा सञ्जय दत्त, अक्षय कुमार, जायद खान, लारा दत्ता र कटरीना कैफको अभिनय थियो । यो फिल्म सन् २००९ मा रिलिज भएको थियो । फिल्ममा अक्षयको भूमिका आरव मल्होत्राको थियो । एन्थनी डिसूजाले निर्देशन गरेको फिल्ममा कटरीना र अक्षयको भिलेन चरित्र दर्शकले निकै मनपराएका थिए ।
अक्षयको भिलेन चरित्रको कुरा गर्दा फिल्म ‘वन्स अपन ए टाइम इन मुम्बई दोबारा’ उत्तिकै रुचाइएको फिल्म हो । यो फिल्म सन् २०१३ मा रिलिज भएको थियो । यो फिल्म सन् २०१० मा रिलिज अजय देवगन र इमरान हाशमी अभिनित ‘वन्स अपन ए टाइम इन मुम्बई’को सिक्वेल हो । ‘वन्स अपन ए टाइम इन मुम्बई दोबारा’ मा अक्षय कुख्यात ड नको भूमिकामा थिए । फिल्ममा इमरान खान र सोनाक्षी सिन्हाको पनि अभिनय थियो ।
सन् २०१८ मा रिलिज फिल्म ‘२.०’ अक्षय कुमार भिलेन भएको अर्को सशक्त फिल्म हो । फिल्ममा हिरोको भूमिकामा रजनीकान्त थिए । फिल्ममा उनको नाम पक्षीराजन थियो ।