भरतपुर अस्पतालमा उपचाररत एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
ज्यान गुमाउने व्यक्ति नवलपरासीको देवचुली नगरपालिका वडा नम्बर १ का ६४ वर्षीय वृद्ध भएको भरतपुर अस्पतालले जनाएको छ ।
भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार ती व्यक्तिलाई भदौ १७ गते कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि खोकीसहित स्वासप्रस्वासमा समस्या भई भदौ १९ गते भरतपुर अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा आज साँझ ५:३० वजे कोभिड सघन उपचार कक्षमा मृत्यु भएको अस्पतालले जनाएको छ । लामो समयदेखि मृगौलाको बिरामी भई डायलासिस गराउँदै आएका उनको अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटर उपचार गरिएको थियो ।
योसँगै चितवन जिल्लाका अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या २२ पुगेको छ । एक जना वृद्धाको घरमानै मृत्यु भएको थियो । चितवनका १२, मकवानपुरका ५, नवलपरासी सुस्ता पूर्वका ३, वारा, गोर्खा र कैलालीका १/१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।