कोरोना संक्रमण नेपालमा देखा परेसँगै सरकारले चैत्र ११ गते देखि लागू गरेको लकडाउन असार महिनामा केही खुकुलो गरेको थियो।
तीन महिना लामो लकडाउन खुकुलो भएसँगै जनजीवन पनि सामान्य हुन्छ भन्ने जनबिश्वास थियो तर त्यस्तो भने हुन सकेन पहिलेको भन्दा झन् भयावह स्थिति आउन थाल्यो संक्रमित हुनेको संख्या दिन दुई-गुणा रात चौ-गुणा जसरी बढ्दै गयो ।
नेपाल सरकारले अवस्था भयावह हुने देखेर पूण लकडाउन र निषेधाज्ञा गर्ने घोषणा गर्यो । त्यसपछि नेपाल सरकारले लकडाउन र निषेधाज्ञा गर्ने जिम्मा प्रमुख जिल्ला अधिकारीलाई सुम्पियो। त्यसैअनुरूप स्थिती हेरेर प्रमुख जिल्ला अधिकारीहरुले अहिले अधिकांश जिल्लाहरुमा लकडाउन एवं पूर्ण रुपमा निषेधाज्ञा जारी गरेका छन्।
यो लेख तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३७ पुगेको छ भने ३०० जनाको मृत्यु भइसकेको छ।
कोरोना संक्रमितको दर दिनप्रतिदिन बढिरहेको छ। जबकी कोरोनाको उत्पत्ति भएको क्षेत्र चीनको वुहानमा पहिलो चरणमा ७६ दिन लकडाउन गरिएको थियो। त्यो अवधीमा कोरोना संक्रमित पूर्ण रूपमा निको भएका थिए भने नयाँ संक्रमित देखिएका थिएनन्।
चीनको वुहान शहरमा साढे दुई महिनाको अवधीमा संक्रमण नियन्त्रणमा लिएको थियो। तर नेपालमा १२० दिने लकडाउन, अझै पनि विभिन्न जिल्लामा निषेधाज्ञाले गर्दा पनि नियन्त्रण हुनुको साटो झन् बढिरहेको छ।
अब यसरी सधैं लकडाउन र निषेधाज्ञा जारी गरेर नहुने भन्नेकुरा जनमानसमा व्यापक हुन थालेको छ। कोरोना भन्दापनि पूर्ण लकडाउन वा निषेधाज्ञा हुने होकी भन्ने कुराले मानिसहरु त्रसिद भएका छन्।
हाम्रो देशको परिप्रेक्ष्यमा हेर्ने हो भने कोरोना भन्दा लकडाउन धेरै-धेरै खतरनाक देखिएको छ। नेपालमा कोरोना लागेर मर्नेहरूको संख्या ३०० छ भने आ त्मह त्या गरेर मर्नेहरूको संख्या ३ हजार नाघिसकेको छ। यसबाट के कुरा प्रष्ट हुन्छ भने कोरोनाले मान्छेहरुलाई मारेन लकडाउनको कारणले जो डि प्रेसनमा गएका मान्छेहरु,आर्थिक कारणले, सामाजिक कारणले , व्यापार व्यवसाय र कतिपय शैक्षिक कारणले यी मान्छेहरुले आ त्मह त्या गरिरहेका छन् । कतिपय विभिन्न रोग लागेर उपचारका लागि हस्पिटल जान नपाएर मृत्युको कारण बनेका छन्। त्यसकारणले कोरोना जति खतरनाक देखिन्छ, सुनिन्छ त्योभन्दा कैयौं गुणा खतरनाक लकडाउन र निषेधाज्ञा छ।
लकडाउन का कारण ५ महिनादेखि बेरोजगार भएर बस्नु पर्दा कमाइको पैसा सकिदा पसल व्यवसाय काम धन्दा सप्पै रोकिँदा जीवन चलाउन कति मुस्किल भयो होला त्यो त सोच्नै नसकिने कुरा हो। सरकारले दिएको राहत भनेको ६ महिनामा १ चोटि ५ केजी चामल सहितको केही खाद्यान्न मात्रै हो। त्यसपछि सरकारले देशका धेरै गरिब असहाय मजदुरलाई बिर्सियो र अहिलेसम्म सम्झेको छैन।
विशेषत भारी बोकेर जीवन धानी रहेकाहरुलाई लकडाउनले निकै असर पारेको छ। शिरमा भारी बोक्ने नाम्लो अहिले भोको पेटमा बाँधिएको छ। अहिले आम मानिसहरुलाइ लागिरहेको छ रोगले भन्दा भोकले मरिन्छ कि भन्ने। त्यस्तै दिनरात नभनी काम गरेर साँझको छाक टार्नेहरुको मुखमा माड नलागेको दिन बिते हप्ता बिते अनि महिनौंहरु पनि बितिरहेका छन् । साना मात्र होइन ठूला ठूला कम्पनी,होटलहरुमा काम गर्नेहरु पनि अहिले काम नपाएर भोकभोकै ठाउँठाउँ भौतारिरहेका छन्।
सरकार यस्तो महामारीको बेला पनि मस्त निन्द्रामा सुतेको छ कि भन्ने भान हुन्छ । जनताले के गरिराखेका छन् ?के खाइरहेका छन् ?के -कस्तो अवस्थामा छन् ? खान पाएका छन् कि छैनन् ? सन्चो बिसन्चो के छ ? भन्ने कुरामा सरकारलाइ सानो सुईको शुद्ध थाहा छैन। थाहा छ त केवल सरकारलाई लकडाउन र निषेधाज्ञा लगाएर गरीब निमुखा जनतालाई दुःख दिन अनि आफु आफ्नो सत्ता, कुर्ची र राजनीतिलाइ कसरी बचाइराख्ने भन्नेतिर मात्र।
यस्तै अवस्था रहिरहने हो भने रोगले भन्दा भोकले मर्नेको संख्या अत्याधिक हुने देखिन्छ। तसर्थ सरकारले अब निषेधाज्ञा र लकडाउनको विकल्प खोज्नुपर्ने बेला आइ सकेको छ ।
म नेपाल सरकारलाई के आग्रह गर्न चाहन्छु भने “THINK GLOBALLY ACT LOCALLY” अर्थात सोच्दा व्यापकरुपमा सोच्नुपर्छ विश्वको सन्दर्भमा सोच्नुपर्छ तर काम गर्दा आफ्नो locality को परिवेश अनुसार देश,काल परिस्थिति सुहाउँदो माटो सुहाउँदो काम गर्नुपर्छ अन्यथा यसबाट घाटा बढी फाइदा कम हुन्छ।
नेपालमा लकडाउन र निषेधाज्ञाको परीणाम यस्तै ( घाटा बढी फाइदा कम ) देखिरहेको छ। त्यसैले म लगायत आम जनमानसले नेपाल सरकारसँग लकडाउन र निषेधाज्ञाको पुनर्विचार गर्नको लागि बिनम्र अनुरोध गर्दछौ । किनकि हाम्रो डाटा र आकलनले हामिलाइ लकडाउन र निषेधाज्ञा प्रतिपादक एवंम घातक हो भन्ने कुरा प्रमाणित गरिसकेको छ ।
अन्ततः यस्तो अवस्थामा सरकारले अब जनताको इम्युन सिस्टम कसरी बढाउने भन्ने तिर बढी ध्यान दिनुपर्यो लकडाउन र निषेधाज्ञा गर्नेतिर होइन। जनताको इम्युन सिस्टम बढी एवंम उकास्ने तिर योजना बनाउनुपर्यो अभियान चलाउनु पर्यो लकडाउन र निषेधाज्ञा गर्नेतिर होइन।