काठमाडौं उपत्यकामा तेस्रोपटक थपिएको निषेधाज्ञाको समयसीमा भोलि मध्यरातमा सकिँदै छ ।
यसअघि भदौ ३, १० र १७ गते कोरोना संक्रमणको जोखिम बढेको भन्दै उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
अब फेरि उपत्यकामा निषेधाज्ञा जारी राख्ने वा नराख्ने भन्नबारे गृह मन्त्रालयसँग समन्वय गरेर निर्णय लिइने काठमाडौं जिल्ला प्रशासन कार्यालयका एक अधिकृतले बताए ।
पछिल्लो समय उपत्यकाकै प्रमुख जिल्ला अधिकारीबीच निषेधाज्ञाको विषयमा केही मतान्तर देखिएको छ । केहीले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्नुपर्ने बताउँदै आइरहेका छन् ।
तर निषेधाज्ञा कार्यान्वयन गर्ने प्रमुख निकाय प्रहरी अधिकारीले भने निषेधाज्ञा अब जनताले सहन नसक्ने दाबी गर्दै आएका छन् ।
एक उच्च सुरक्षा अधिकारीले भने, “अब फेरि निषेधाज्ञा थपियो भने त्यो घातक हुनसक्छ । जनता चुप लागेर बस्ने अवस्था छैन ।यस्तोमा जनता र प्रहरीबीच मुडभेडको अवस्था आउनक्छ । त्यसैले निषेधाज्ञाको विकल्प खोज्न जरुरी छ ।”
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिए उल्लंघन गरेर व्यवसाय चलाउने घोषणा गरेको गरिसकेको छ।
नाडाको सोमबारको बैठकले अब निषेधाज्ञा थपिए नमान्ने निर्णय गरेको अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका हुन् । नाडाका अध्यक्षले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए ।