नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २४ गतेदेखि निषेधाज्ञाको अवज्ञा गर्ने अभिव्यक्ति सार्वजनिक गरेसँगै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले व्यापारीले भनेर निषेधाज्ञा नखुल्ने बताएकी छिन् ।
काठमाडौं उपत्यकामा भदौ २ गतेदेखि जारी निषेधाज्ञा २४ अर्थात बुधबारबाट सकिँदैछ ।
काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढिरहेको अवस्थामा जारी निषेधाज्ञालाई केही खुकुलो बनाएर जाने उपत्यकाका सिडिओहरुको तयारी छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले निषेधाज्ञा तोडेर व्यवसाय सञ्चालन गर्ने निर्णय गरेको छ । तर, प्रशासनले भने अझै केही समय लकडाउन थपेर कोरोना संक्रमणको अवस्था हेरेर मात्रै निषेधाज्ञा खोल्ने तयारी गरेको छ ।
सोमबार नाडाको पदाधिकारी बैठकले भदौ २५ गतेदेखि व्यवसाय सञ्चालन गर्न व्यावसायीहरुलाई आग्रह गरिसकेको छ ।
के भनेको थियो नाडाले
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थपिए उल्लंघन गरेर व्यवसाय चलाउने घोषणा गरेको छ।
नाडाको सोमबारको बैठकले अब निषेधाज्ञा थपिए नमान्ने निर्णय गरेको अध्यक्ष कृष्णप्रसाद दुलालले बताएका छन् ।
नाडाका अध्यक्षले १ सय ८० दिन सम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अव हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना संक्रमणको जोखिम हेरेर मात्रै खोल्न सकिने बताइन् ।
उनले अहिले पनि कडाई नगरिएकाले निषेधाज्ञाले खासै असर नपारेको बताइन् ।
सिडिओ पाण्डेले लकडाउनबारे औपचारिक निर्णय भोलकिो बैठकले गर्ने जानकारी दिइन् । उनकाअनुसार तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय, विज्ञसमूह र गृहमन्त्रालयसँगको छलफलपछि मात्रै निषेधाज्ञाबारे थप निर्णय हुनेछ ।
सिडिओ पाण्डेले लकडाउनको मोडालिटी परिवर्तन गर्ने संकेत गरेकी छन् ।