बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु मंगलबारदेखि बिहीबारसम्म खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।
सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको छ । राजश्व उठाउने म्याद २५ गतेसम्म भएका कारण बैंकका शाखाहरु खुला गर्न निर्देशन दिइएको राष्ट्र बैंकले बताएको छ । अहिले बैंकले एकदमै कम सिमित शाखा कार्यालयहरुमात्रै खोलेर सेवा दिइरहेका छन् ।
नेपाल राष्ट्र बैंकले आज एक सूचना जारी गर्दै इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई नेपाल सरकारको राजश्व बुझ्ने प्रयोजनको लागि भदौं २३ देखि २५ गतेसम्म नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पूर्ण शाखा काउन्टरहरु खुला गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।