नेपालगञ्ज उपमहानगरपालिकाका जिन्सी शाखामा कार्यरत एक कर्मचारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
आइतबार साँझ ८:१५ बजेतिर नेपाल नेपालगञ्ज उपमहानगरपालिका ९ का ५९ वर्षीय पुरुषको मृत्यु भएको हो।
यससँगै बाँकेमा कोरोनाका कारण मुत्यु हुनेको संख्या सात पुगेको छ।
उनी बाँकेमा कोरोनाका कारण मृत्यु हुने सातौं व्यक्ति तथा चौथो पुरुष हुन्। कोरोनाका कारण मृत्यु हुने पहिलो कर्मचारी हुन् उनी। ती पुरुष नेपालगञ्ज उपमहानगरपालिकाको जिन्सी शाखामा कार्यरत थिए। उनको निधन भएपछि नेपालगञ्ज उपमहानगरपालिकाले गहिरो दुःख ब्यक्त गरेको छ ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनलाई भाद्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
संक्रमण पुष्टि भएको तीनदिन पछि भाद्र १८ गते अस्पताल भर्ना भएका थिए। तीन दिन पछि नै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
उपप्रमुख उमा थापा मगरका अनुसार आफ्ना कर्मचारीको निधन भएपछि आज एक दिन शोक मनाउन कार्यालय बन्द गरिएको छ । मंगलबारदेखि तीन दिनसम्म कार्यालय सील गर्ने निर्णय समेत उपमहानगरपालिकाले जनाएको छ ।
उपमहानगरपालिका कार्यालय आईतबारदेखि सञ्चालनमा आउने छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा। धवलशम्शेर राणाले पनि आफ्ना कर्मचारीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै निधनबाट उपमहानगरपालिकाले इमान्दार राष्ट्रसेवक कर्मचारी गुमाएको बताएका छन् ।
यस अघि नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडा अध्यक्ष प्रमोद रिजाललाई कोरोना देखिएपछि पहिलो पटक सिल गरिएको थियो । कर्मचारीको मृत्यु पछि दोश्रो पटक उपमहानगरपालिका सिल गरिएको छ ।