भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द एमबिबिएस डाक्टर बनेका छन् । उनी नेपाल मेडिकल काउन्सिलको अनुमतिपत्र प्राप्त डाक्टर बनेको पारिवारिक स्रोतले जनाएको छ ।
आजै मात्र मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । जसमा ४६ प्रतिशत उत्तिर्ण भएका छन् । त्यसमा विप्लवका छोरा प्रकाश पनि परेका हुन् ।
प्रकाशले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबिबिएस कोर्स पढेका हुन् । बेलाबेलामा आफ्नो छोरालाई लाखौं खर्च गरेर डाक्टर बनाउने तर जनताका छोराछोरीलाई बम बनाउन सिकाउने आरोप पनि विप्लवमाथि लाग्ने गरेको छ ।
यसै सन्दर्भमा केही समयअगाडी एक अनलाइनमा विप्लवका छोरा प्रकाशले दिएको अन्तरवार्ताका केही बुँदा यहाँ प्रस्तुत गरिएको छ ।
जनताका छोराछोरीलाई बम बनाउन र पड्काउन सिकाउने विप्लवले आफ्ना छोरालाई डाक्टर पढाउने भन्ने आक्षेप छ नि?
विप्लवको चाहनामा मात्रै मैले पढेको होइन। पहिलो कुरा त मेरो क्षमतामा भर पर्ने कुरा हो। मैले दम्भ देखाएको होइन तर एमबिबिएस पढाइ साँच्चै कठिन छ।
अर्को कुरा यो बम बोकाउने बन्दुक भिराउने भन्ने कुरा के हो भने कतिले देखिने गरी बोकेको छन् कतिले नदेखिने गरी।
कतिले बन्दुक नबोके पनि धेरै योगदान दिएका छन्। सबै आ-आफ्नो क्षेत्रमा छन् र सबैको मूल्यांकन हिसाबले हुन्छ। बम र बन्दुक बोक्ने र मेडिकल पढिरहेको मेरो वर्ग एउटै हो।
कसले बम बोक्ने र कसले ब्याटलमा उपचार गर्ने भन्ने कुराको निर्धारण हाम्रो पार्टीले गरेको छ। पार्टी कमिटीभित्र यो विषय शंका उपशंका र मुद्दा बनेको छैन।
एमबिबिएस पढ्दै हुनुहुन्छ। चितवन मेडिकल कलेज निजी संस्था हो। धेरै नै महँगो छ। फी कसरी तिर्नुहुन्छ?
चितवन मेडिकल कलेजलाई मैले ३३ लाख ४४ हजार रुपैयाँ तिरेको छु। हामीलाई कलेजले छुट दिएको छ। अर्को कुरा मेरो फी पार्टीले नै तिरिदिन्छ। पार्टी कमिटीमा छलफल भएरै मलाई मेडिकल पढाइएको हो। अलिअलि मामाघरबाट पनि सहयोग भएको छ। कलेज परिवार र पार्टीको सहयोगमा मेरो मेडिकल पढाइ सम्भव भएको हो।