आफन्तको निधनमा भेटी लिएर गएका यात्रु सवार एक जीप तनहुँ जिल्लाको ऋषि १ खाल्टे रहेको खोलामा खस्दा एक जनाको ज्यान गएको छ । घटनामा परी चालकसहित सातजना घाइते भएका छन् । चालकको अवस्था चिन्ताजनक छ ।
व्यास नगरपालिका ५ का व्यक्तिहरु चढेर चापाघाटबाट ऋषिङको खाल्टे जाँदै गरेको ग १ ज ७१२८ नम्बरको जीप विहान खोलामा खसेको प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाले जानकारी दिए ।
घटनामा घाइतेमध्ये व्यास ५ निवासी ५५ वर्षका राजकुमार श्रेष्ठको उपचारका क्रममा दमौली अस्पतालमा ज्यान गएको हो । घटनामा चालक गम्भीर घाइते छन् । उनको शरिर जीपले च्यापेकामा केहीबेर अघि मात्र उद्धार गरिएको ट्राफिक प्रमुख रेशम रानाभाटले जानकारी दिए ।
घटनाका घाइतेमध्ये केहीको रत्नहरि र दमौली अस्पतालमा उपचार भैरहेको छ । केहीलाई नेशनल अपोलो अस्पतालमा उपचारपछि थप उपचारका लागि पोखरा पठाइएको बताइएको छ ।