काठमाडौं । प्रत्येक वर्ष २२ भदौमा मनाइने ‘निजामती सेवा दिवस’का लागि सरकार चिटिक्क परेको ‘कस्मेटिक’ नारा तय गर्छ । काम भने अर्कै हुने गरेको छ ।
२०७७ को नारा ‘स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन’ तय गरिएको छ । यो नारा राजनीतिक नभई प्रशासनिक नेतृत्वबाट तय गरिँदै आएको छ । आफैंद्वारा तय नारा व्यवहारमा उतार्न भने प्रशासक असफल देखिएका छन् ।
दिवस मनाउन थालिएको १७ वर्ष भयो । यस अवधिमा सरकारले सेवाप्रवाह, सुशासन र समृद्धिका नारा लगाउन भने छोडेको छैन । सेवाप्रवाह झनै कमजोर हुँदै गइरहेको छ ।
‘सुशासन’ नारामै सीमित छ । ‘सेवाप्रवाह र सुशासन’ हात्तीको देखाउने ‘दाँतजस्तै बनिदिँदा समृद्धि यात्रा झनै टाढिँदै’ गएको प्रशासनका जानकारको विश्लेषण छ । सुशासनको नारा लगाउन नथाक्ने निजामती प्रशासनमा आबद्ध सयौं कर्मचारी बर्सेनि ‘घुस प्रकरण’ मा पक्राउ परिरहेका छन् ।
यस्ता छन्, १७ वर्षका नारा
२०६१– सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता
२०६२– सबल प्रशासन, स्वच्छ प्रशासन
२०६३– लोकतन्त्रका लागि जनमुखी नागरिक प्रशासन
२०६४– पारदर्शी प्रशासनः लोकतान्त्रिक प्रशासन
२०६५– जनसेवा हाम्रो प्रतिबद्धता
२०६६– जनातका लागि प्रशासन
२०६७– शिष्ट र नम्र व्यवहार : सेवाग्राहीको अधिकार
२०६८– जनतालाई सम्मान र सेवा स् सुशासनलाई टेवा
२०६९– जनमुखी प्रशासन : अनुशासन र सुशासन
२०७०– सुशासन र सदाचार : निजामती सेवाको आधार
२०७१– निजामती सेवाको मान्यता : अनुशासन, इमानदारिता र नैतिकता
२०७२– निजामती सेवाको रचना : समृद्ध नेपालको रचना
२०७३– सेवामैत्री र जवाफदेही प्रशासन
२०७४– निजामती कर्मचारीको प्रतिबद्धता स् पारदर्शिता र चुस्तता
२०७५– नतिजामुखी प्रशासन, समृद्धि र सुशासन
२०७६– सक्षम निजामती प्रशासनः विकास, समृद्धि र सुशासन
२०७७– स्वच्छ र सक्षम निजामती प्रशासन, समृद्धि र सुशासन
गत वर्ष ‘सक्षम निजामती प्रशासन, विकास, समृद्धि र सुशासन’ नारा लगाइयो । तर, सोही वर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई सयभन्दा बढी कर्मचारीलाई भ्रष्टाचारमा संलग्न भएबापत पक्राउ गर्यो ।
‘सक्षम’ भनिए पनि यतिखेर प्रशासन संयन्त्र इतिहासमै अत्यन्त कमजोर र निम्छरो बन्न पुगेको प्रशासनविद्को निष्कर्ष छ । २२ भदौ २०१३ मा पहिलोपटक निजामती सेवा ऐन जारी भएको सम्झनामा दिवस मनाइँदै आएको हो ।
२०६१ सालदेखि औपचारिक रूपमै निजामती सेवा दिवस मनाउँदा ‘सुशासन र प्रदान गरिने सेवाको प्रभावकारिता’ नारा तय गरियो । प्रायः हरेक वर्ष तय गरिएका नारामा ‘सेवाप्रवाह, जनसेवा, सुशासन, विकास र समृद्धि’ शब्द आकर्षक तथा ‘कस्मेटिक’ लाग्छन् ।
दिवस मनाइरहँदा नारा घोक्ने सरकारी निकाय र कर्मचारी संयन्त्रले काम कर्तव्य त्यसअनुसार बनाउन नसक्दा नागरिकस्तरमा ‘कर्मचारीतन्त्र’प्रति अझै पनि विश्वास जाग्न सकेको छैन ।
लोकसेवा आयोग अध्यक्ष उमेशप्रसाद मैनाली आकर्षक नारा घोक्ने तर प्रभावकारी सेवा प्रवाह र सुशासन दिन नसक्ने ‘कर्मचारीतन्त्रको कुनै अर्थ नरहने’ बताउँछन् ।
‘निजामती सेवाले विगतको गौरवगाथा सम्झेर मात्रै हुँदैन, भविष्यका लागि नयाँ इतिहास रच्न सक्नुपर्छ,’ मैनालीले राजधानीसँग भने, ‘यसका लागि आमकर्मचारीले जनप्रिय सेवाप्रवाह दिन सक्नुपर्छ ।’
सार्वजनिक प्रशासनले संघीय लोकतान्त्रिक गणतन्त्रले आत्मसात गरेका मूल्य–मान्यता जनताका घरदैलोमा सहज किसिमले पुर्याउनसक्नु पर्ने आवश्यकता लोकसेवा आयोग अध्यक्ष मैनालीले औंल्याए ।
पूर्वसचिव तथा प्रशासनविद् शारदाप्रसाद त्रिताल राजनीतिक नेतृत्वले लगाएका नारा ‘पूरा नहुने रोग’का रूपमा प्रशासन वृत्तमा पनि देखिन थालेको विश्लेषण सुनाउँछन् ।
‘नेताका नारा त पूरा हुँदैनथे, अब प्रशासकले लगाउने नारासमेत उनीहरूकै शैलीको भएकाले जनताले कर्मचारीतन्त्रलाई पनि विश्वास गर्न छोडेका छन्,’ त्रिताल भन्छन्, ‘प्रशासनले वास्तविक पक्ष आफ्नो मूल ध्येय बनाउनुपर्नेमा कृत्रिमतामा रमाउन पुग्दा सेवाप्रवाह कमजोर बन्दै गएको हो ।’
अन्तर्राष्ट्रिय अभ्यास र मान्यता हेर्दा निजामती सेवाको मूल काम सार्वजनिक सेवाप्रवाह र न्यायपूर्ण सम्पादन हो । विभिन्न देशका निजामती सेवाले सार्वजनिक प्रशासन क्षेत्रमा नयाँ नयाँ अवधारणा प्रयोग गर्नुको मूलकारण पनि सेवाप्रवाहमा प्रभावकारिता ल्याउनु नै हो ।
अन्य मुलुकमा ‘प्रशासनमा जनता पहिले’ भन्ने अवधारणा विकास भए पनि नेपालमा भने यसलाई व्यवहारमा उतारिएको पाइँदैन । ‘पहिला जनतालाई सेवा दिने’ भन्ने मूलमर्म आत्मसात गर्दै संयुक्त राष्ट्रसंघले सन् २००३ को २३ जुनदेखि ‘पब्लिक सर्भिस डे’ अर्थात् ‘विश्व सार्वजनिक सेवा दिवस’का रूपमा मनाउँदै आएको छ ।
विश्वमा ‘पब्लिक सर्भिस डे’ मनाउनुको मुख्य चार उद्देश्य छन् । जसमा समुदायमा सार्वजनिक सेवाको मूल्यप्रति सम्मान बढाउने, विकास प्रक्रियामा सार्वजनिक प्रशासनको योगदान र चर्चा गर्ने, कर्मचारीको कार्यसम्पादनलाई पहिचान दिने र युवालाई सार्वजनिक प्रशासनप्रति आकर्षित गर्न वातावरण सिर्जना गर्नेछन् । तर, नेपालमा मनाइने निजामती सेवा दिवस भने कुनै पनि अर्थ नराख्ने र कर्मकाण्डीमै सीमित भइरहेको पूर्वसचिव त्रितालको निक्र्योल छ । राजधानी दैनिकबाट