काठमाडौं उपत्यकामा कोभिड–१९ का सङ्क्रमित ७ हजार ३८ पुगेको छ । दश दिनमा उपत्यकामा दोब्बर सङ्क्रमित थपिएका हुन । भदौ ८ गते काठमाडौं उपत्यकाको तीनवटै जिल्लामा ३ हजार ४ सय ८६ जना सङ्क्रमित थिए ।
देशको राजधानीसमेत रहेको उपत्यकामा दैनिक सङ्क्रमित थपिने करिब पाँच सय पुग्न लाग्दा तीनै तहको सरकार सक्रिय बनेको छ । अझै उपत्यकाका स्थानीय तहका पाँच वडाको प्रत्येक वडामा सङ्क्रमित हुने करिब २ सय पुगेको छ ।
कोभिड–१९ उच्च स्तरीय समितिले बाँडफाँड गरेको जिम्मेवारी बमोजिम संघीय सरकारले लक्षण देखिने सङ्क्रमितको उपचार व्यवस्थापन गर्छ । प्रदेशले स्थानीय तहसँगको समन्वयमा लक्षण नदेखिएका बिरामीको व्यवस्थापन गर्दै आएको छ । स्थानीय तहले कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउने जिम्मेवारी पाएको छ ।
काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा सङ्क्रमण बढेसँगै उपत्यका नगरपालिका फोरमको बैठक बसी शैया व्यवस्थापनको कार्यलाई तीब्रता दिएको छ । फोरमले प्रदेशसँगको समन्वयमा सात हजार शैया व्यवस्थापन गर्न जुटेको काठमाडौं महानगरपालिका प्रवक्ता ईश्वरमान डंगोल बताउँछन् ।
काठमाडौं महानगरपालिका ७ वटा वडामा मात्रै १ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् । लक्षण विहीन सङ्क्रमितको संख्या बढी भएकोले पनि स्थानीय तहका लागि सङ्क्रमित व्यवस्थापन चुनौतीपूर्ण छ । नेपालमा करिब ७५ प्रतिशत लक्षणविहीन सङ्क्रमित छन् ।
काठमाडौंका कोभिड–१९ हटस्पट
महानगरपालिकाको स्वास्थ्य महाशाखाका बमोजिम ७ वटा वडा संक्रमणको ‘हटस्पट’ पहिचान गरिएको छ । १ सय जनाभन्दा बढी सङ्क्रमित रहेका वडालाई हटस्पटमा राखिएको छ ।
वडा नं ३२ कोटेश्वर र वडा नं १६ बालाजुमा २ सयभन्दा बढी संक्रमित पुष्टि भइसकेको छ । वडा नं २७ महाबौद्ध र वडा नं ३ महाराजगञ्जमा करिब १ सय ८५ सङ्क्रमित छन् । वडा नं १४ कलङकी र वडा नं १३ कालीमाटीमा करिब १ सय ३५ सङ्क्रमित पुष्टि भएको महानगरपालिकाले जनाएको छ । वडा नं २८ अन्तगर्त पर्ने बागबजारमा १ सय ३ सङ्क्रमित छन् ।
आइसोलेशनको व्यवस्थापन स्वास्थ्य मन्त्रालयको प्रोटोकल बमोजिम निर्धारण गरिएको छ । यद्दपी लक्षण विहीन बिरामीले घरमा छुट्टै कोठा र शौचालयको ब्यवस्था नरहेको जानकारी गराएपछि आइसोलेशन सेन्टरमै व्यवस्थापन गरिएको बताइएको छ ।
काठमाडौंमा मात्रै करिब छ सय भन्दा बढी लक्षणविहीन सङ्क्रमित होम आइसोलेशनमा छन् । होम आइसोलेशनमा बसेका सङ्क्रमितको चिकित्सकीय परामर्श, खाद्यान्न व्यवस्थापन लगायतबारे सम्बन्धित वडाका जनप्रतिनिधिले सोधखोज गर्दै आएको महानगरको दाबी छ ।
काठमाडौं उपत्यकाका तीन जिल्लाका लागि हाल बलम्बु, आयुर्वेद चिकित्सालय, खरिपाटीसहितका स्थानमा दुई हजार क्षमताको आइसोलेशन सेन्टर सञ्चालनमा छन् । जसमा करिब एक हजार सात सय जना सङ्क्रमित बसेका छन् ।
प्रवक्ता डंगोलका अनुसार नागार्जूनस्थित सामुदायिक भवन र नगरपालिका फोरमले सात हजार शय्या थप्न लागेकोले तात्काल आइसोलेशन शय्याको समस्या हुने देखिन्न ।
महानगरमा कोभिड–१९ को व्यवस्थापनका लागि ७४ जना स्वास्थ्यकर्मीको टोलि छ ।
यद्दपी कन्ट्याक्ट ट्रेसिङका लागि महानगरले गरेको प्रयास पर्याप्त नदेखिएको जनस्वास्थ्यविद्हरुले गुनासो गर्दै आइरहेका छन् ।