सोह्र श्राद्ध सुरु भएको छ आश्विन महिनाको कृष्ण पक्ष पितृहरूलाई तृप्त तुल्याउने समय हो, त्यसैले यसलाई पितृ पक्ष भन्दछन् । यो समयमा हामीले गर्नै नहुने कामहरू छन् जुन गर्नाले घरमा अशान्ति तथा कलह र पितृलाेकमा रहेका पितृहरू अशान्त हुने गर्दछन् । १६ दिन नियम अनुसार गर्न सके तपाईँको कुण्डलीमा भएको पितृदाेष पनि शान्त भएर जानेछ । यो समयमा गर्नै नहुने कामहरूको बारेमा चर्चा गर्दैछाैँ ।
१. पद्म पुराण तथा मनुस्मृतिका अनुसार श्राद्ध देखाउनका लागि गर्ने होइन, गुप्त रूपमा गर्नुपर्छ । धनी छ भने पनि श्राद्धमा धेरै खर्च र देखावटी नगर्नु अनि भोजनको माध्यमबाट मित्रता र सामाजिक तथा व्यापारिक सम्बन्ध स्थापित नगर्नु ।
२.सोह्र श्राद्धकै दिन कपाल नकाट्नु ।
३. महाभारतका अनुसार भन्टा, गाजर, मुसुरो दाल, रहर, लौका, हिङ, प्याज,लसुन, बीरे नुन, जामुन, सुपारी, सर्स्यौं र चनाको प्रयोग निषिद्ध छ ।
४.पितृ पक्षमा कुनै पनि माङ्गलिक तथा शुभ काम गर्न वर्जित छ ।
५.यो समयमा कुवा निर्माण, देव प्रतिष्ठा वा कुनै प्रयोजनका लागि व्रत, उत्सव, उद्यापन र वधू प्रवेश लगायतका कार्य गर्नु हुँदैन ।
६.घरमा रङ्ग लगाउन, नयाँ कपडा किन्न, घर, विवाह र विवाहको कुरा झिक्न वर्जित छ ।
७.भूमि पूजन, इनार पूजा, संन्यास ग्रहण, व्यापारको श्रीगणेश आदि श्राद्ध पक्षमा गर्नु हुँदैन ।
८.प्रत्येक गृहस्थीले नियमित श्राद्ध सम्भव भएसम्म घरैमा गर्नु पर्दछ । अरूको स्वामित्व भएको घर वा जमिनमा बसेर श्राद्ध गर्दा पितृहरू खुसी हुँदैनन् भन्ने मान्यता छ ।अर्काको घर वा डेरामा श्राद्ध गर्दा पितृ अप्रसन्न हुने मात्र होइन, तिनको शक्ति र सामर्थ्यमा पनि कमी आउँछ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
९. सोह्र श्राद्धको पूरा अवधिभर घरमा तामसी भोजन माछा मासु, मदिरा वा कुनै मादक पदार्थको सेवन र संसर्ग गर्नु हुँदैन ।
१०.कछाकी र श्राद्धका दुवै दिन आकस्मिक रूपमा धनप्राप्त हुने कुनै पनि लाभमूलक काम गर्नुहुँदैन । उक्त दुवै दिन शरीरमा सुन, तेल र साबुनको संसर्ग गर्नु हुँदैन । पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्दछ । दिउँसो सुत्नु वा निदाउनु हुँदैन, अनि राती पनि भुइँमा एकसरो ओछ्यान लगाएर शयन गर्नुपर्दछ ।
११.श्राद्ध सकिएपछि बाँडिने पितृप्रसाद आमन्त्रण गरिएका सबैलाई वितरण गर्नु पर्दछ, तर पिण्डमा चढाइएको पितृप्रसाद श्राद्धाधिकार पाएको सपिण्डीभित्रको दाजुभाइ र बन्धुबान्धवले मिलेर ग्रहण गर्नुपर्दछ । उक्त प्रसाद एउटै गोत्रभित्रका सगोत्री दाजुभाइलाई दिए पनि हुन्छ ।
यी कुरालाई नियम अनुसार पालना गर्न सके घरमा लक्ष्मी खुसी हुनुका साथै तपाईँको काममा पितृको करणले रोकिएको काम हरू बन्ने विश्वास गरिन्छ ।