कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा काम नपाएपछि ठेलामै निदाएका कामदार । बन्दाबन्दीका कारण मजदूरले काम नपाएपछि परिवारको खर्च चलाउन धौ धौ परेको छ ।
कोरोना संक्रमणले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने मजदूरहरु प्रत्यक्ष रुपमा मार परेका छन् ।
विपदको यस घडीमा संघ, प्रदेश र स्थानीय तहको समन्वयमा उनीहरुका पिडा व्यथामा मलमपटि लगाउनु पर्ने आवाज उठिरहेको छ ।
दैनिकी नै असहज बनेका मजदूरको सहयोगका लागि राज्य एवम् सम्वद्ध निकायहरुले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने वेला आएको मजदुर संगठनहरुले बताउँदै आइरहेका छन् ।
बन्दाबन्दीका कारण यतिखेर उद्योग, कलकारखाना नचल्दा मजदूरहरु समस्यामा छननै पूर्वाधार विकास तथा निर्माणका सम्पूर्ण काम बन्द हुँदा उनीहरुको रोजीरोटी बन्द भएको छ।
विगतमा विदेशमा गई मजदूरी गरेर परिवारको पालनपोषण गर्नुका साथै देशका लागि समेत ठूलो रेमिटेन्स भित्र्याउने बैदेशीक रोजगारमा रहेका मजदूरहरु अधिकांश त्यही ठाउँमा रोजगारी नभएपछि घर फर्कने तयारीमा छन् । देशमा राम्रो रोजगारीको अवसर नभएर विदेशीन बाध्य उनीहरुको अवको गन्तव्य के हुने भन्ने अर्को चुनौती टडकोरो देखिएको छ।