
अर्थमन्त्री डा. युवराज खतिवडा मन्त्रीपरिषद बैंठकमा जान छोडेका छन । उनी आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा गएनन् ।
दिनभर अर्थ मन्त्रालयमै बसेर काम गरेका उनी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको बैठकमा भने देखिन छाडेका छन् । यही भदौं २० गते कार्यकाल सकिन लागेकाले खतिवडा मन्त्रीपरिषदको बैंठकमा नगएको धेरैले अनुमान लगाएका छन । तर कुरा अर्कै ।
उनी कोरोना संक्रमणको डरका कारण मन्त्रीपरिषद बैंठकमा अनुपस्थित भएका हुन् । आइतबारको मन्त्रीपरिषद बैंठकमा मन्त्री खतिवडालाई नदेखेपछि केही मन्त्रीहरुले डा. खतिवडालाई कोरोना लागेको आशंका गरे ।
उनलाई नदेखेपछि कतिपय मन्त्रीले खासखुस गरे, ‘उहाँलाई कोरोना पो लागेछ कि क्या हो !’ मन्त्री खतिवडालाई कोरोना लागेको चाहिँ होइन, कोरोनाको डर मात्रै लागेको हो । बैठकमा सहभागी एक मन्त्रीको भनाई उदृत गर्दै बालुवाटार स्रोतले भन्यो ।
क्वारेन्टाइमा बसेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र गुहमन्त्री रामबहादुर थापा (बादल) पनि आइतबारको मन्त्रीपरिषद बैंठकमा सहभागि हुने भएपछि डा. खतिवडा कोरोनाको बैठकमा नआएको हुनसक्ने एक मन्त्रीले बताए ।
गत बैशाखमा काठमाडौंको पेप्सीकोलामा रहेको सनसिटी अर्पाटमेन्टमा बस्ने एकैपरिवारका सदस्यहरुमा कोरोना देखिएपछि अर्थमन्त्री पनि त्यहाँ पुगेको हुनाले उनलाई पनि कोरोना लागेको हुनसक्ने टीका टिप्पणीहरु भएका थिए ।
चैत ८ मा भएको अपार्टमेन्ट वेल फेयर सोसाइटीको चुनावमा खतिवडाका छोरा सचिव पदमा विजयी भएका थिए । चुनावपछि अपार्टमेन्टमा नयाँ कार्यसमितिलाई बधाई दिन अर्थमन्त्री डा. खतिवडासमेत पुगेकाले उनको पनि तत्काल परीक्षण गर्न सुझाव दिइएको थियो ।