नेपाल आइडल सिजन ३ को बिजेता घोषणा गर्नु अगाडी सो कार्यक्रमको एकजना सदस्यमा कोरोना पोजेटिभ पुष्टि भएपछी कार्यक्रम खल्लो भएको छ ।
स्टाफ कोरोना संक्रमित भएको पाइएपछि गायन रियालिटी शो नेपाल आइडलको फाइनलको प्रत्यक्ष प्रसारण बीचमै रोकिएको थियो ।
स्टाफ, जज र प्रतिस्पर्धी सबै आइसोलेसनमा गएका छन् । कार्यक्रम लाइभ चल्दाचल्दै बीचमै रोकेर एक सूचना प्रसारण गरी यसको जानकारी दिइएको हो ।
संक्रमणका कारण ग्राण्ड फिनालेको विजेता घोषित कार्यक्रममा जज र प्रतिस्पर्धीहरु अनुपस्थित रहेका छन् ।
पाल आइडल निर्माण पक्षले भनेको छ, ‘ग्राण्ड फिनालेका सम्पूर्ण प्रस्तुतीहरु सकिएपश्चात नेपाल आइडल निर्माण टोलीका एक सदस्यलाई कोरोना पोजेटिभ देखिएको सूचना प्राप्त हुन आएकोले प्रस्तुती पछाडिका सम्पूर्ण कार्यक्रम स्थगित गर्दै नेपाल आइडलका प्रतिस्पर्धी तथा जजहरु आइसोलेसनमा जानुपर्ने बाध्यता आइलाग्यो ।’
निर्माण पक्षका अनुसार प्रतिस्पर्धी तथा आम दर्शकको भावनालाई कदर गर्दै आज बेलुका प्राप्त भोट तथा जजको मूल्यांकनको आधारमा अन्न्पूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले घोषणा गरेका छन् ।
शुक्रबार प्रसारण हुँदै आएको रियालिटी सो नेपाल आइडल नेपाली सांगीतिक इतिहासको सर्वाधिक रुचाइएको कार्यक्रम हो। प्रतिस्पर्धाको उत्कृष्ट ३ मा सज्जा, प्रवीण बेडुवाल र किरणकुमार भुजेल पुगेका थिए।
नेपाल आइडल सिजन–३ को उपाधि सज्जा चौलागाईंले उचालेकी छन् । पहिलो सिजनमा बुद्ध लामा र दोस्रो सिजनमा रवि ओडले हाँसिल गरेका थिए भने पहिलोपटक महिलाले नेपाल आइडलको ताज उचालेकी हुन् ।