सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को महाधिवेशन तोकिएकै समयमा नहुने लगभग पक्का भएको छ। आगामी चैतमा एकताको महाधिवेश गर्ने भनिए पनि विभिन्न कारणले तोकिएकै समयमा नहुने देखिएको हो। महाधिवेशन २०७७ चैत अन्तिममा गर्ने केन्द्रीय कमिटीले निर्णय गरेको थियो।
तर नेकपामा एकता प्रकृया नै नसकिएकोले महाधिवेशन हुन नसक्ने भएको हो । एकता प्रक्रियाले पूर्णता नपाई महाधिवेशन गर्न सकिँदैन ।
लामो समय पार्टीमा देखिएको विवाद अन्ततः विवाद मथ्थर भयो। विवाद समाधान गर्न गठित कार्यदलले पनि आगामी चैतमा सकेसम्म सहमतिमा महाधिवेशन गर्ने प्रस्ताव गरेको छ। सँगसँगै कार्यदलले एककता प्रकृया बाँकी रहेकोमा ध्यानाकर्षण पनि गराएको थियो। कार्यदलको प्रतिवेदनमा एकताका बाँकी कामहरू तत्काल पूरा गर्नुपर्ने उल्लेख छ ।
एकताका बाँकी काम
पार्टी एकता भएको दुई वर्ष बढी भए पनि त्यसले पूर्णता पाउन सकेको छैन। केन्द्रीय विभाग र आयोगले पूर्णता पाउन सकेको छैन। गत सालको कात्तिकमै केन्द्रीय विभाग र आयोगहरू बनेका थिए। तर अधिकांश संरचनाले अपूर्ण छन् ।
आगामी चैतमा महाधिवेशन नहुने दुई आधार छन्। पहिलो एकता प्रकृक्रियाले नै पूर्णता पाएको छैन। दोस्रो कोरोना महामारी। महामारीका कारण सभा, सम्मेलन र बैठक गर्न पनि सम्भव छैन।
नेकपामा केन्द्रीय निकायहरू अनुशासन आयोग, लेखा परीक्षण आयोग, निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चको अध्यक्ष र सचिव तोकिए पनि त्यसमा रहने सदस्यहरूको टुङ्गो लागेको छैन।
त्यस्तै अखिल नेपाल महिला संघ, अपाङ्गता संगठन, खेलकुद महासंघ, ट्रेड युनियन नेपाल, नेपाल उद्योगी व्यवसायी महासंघ जस्ता जनवर्गीय संगठनहरूले पनि पूर्णता पाएका छैनन्। विभिन्न कारणले रिक्त भएका केन्द्रीय कमिटी, प्रदेश कमिटीलगायत अन्य कमिटीहरूमा पनि मनोनयन हुन सकेको छैन । पोलिटब्युरो गठनको विषय बहसमै अल्झिरहेको छ ।
आयोगहरु मात्रै होइन पूर्व माओवादी र एमालेका संगठित सदस्यहरुको पनि विवरण छैन। नवीकरणसहित नेकपाको नयाँ सदस्यता वितरण भएपछि मात्र केन्द्रदेखि वडासम्मका अधिवेशन गर्ने आधार तयार हुनेछ । पूर्वएमालेको पाँच लाख र पूर्वमाओवादीको तीन लाखसहित करिब आठ लाख संगठित सदस्य रहेको नेकपाको दाबी छ ।
०७७ भित्र केन्द्रीय महाधिवेशन गर्न नेकपाले प्रदेश, जिल्ला, क्षेत्र, स्थानीय तह र वडाहरूको मात्र होइन, २२ जनवर्गीय संगठनहरूको पनि अधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ । सदस्यता नवीकरणसम्बन्धी काम सकिएपछि पनि यी काम सक्न कम्तिमा ६ महिना लाग्न सक्छ।
सबै प्रदेश र जिल्लाहरूमा भावनात्मक एकताको सन्देश दिन भेला र सभा गर्ने पनि कार्ययोजना पनि अधुरै छ ।
कार्यदिशाबारे पनि हालसम्म एकमत छैन। पार्टीपंक्ति प्रशिक्षित नभएकै अवस्थामा अन्तरिमकालको सिद्धान्त र कार्यदिशामा केन्द्रीय नेता नै सन्तुष्ट छैनन् । पार्टीका चलअचल सम्पत्ति पनि एकीकृत भइसकेको छैन ।
आशंका
नेकपा एकतापछि गर्ने भनिएका काम कुनै पनि पूर्वयोजनाअनुसार भएको देखिदैन। त्यसैले महाधिवेशन पनि भनेकै समयमा हुन्छ भन्ने अवस्था छैन। तत्कालीन एमाले–माओवादीबीच ३ जेठ ०७५ मा एकता हुँदा तीन महिनाभित्र एकीकरण प्रक्रियाका बाँकी काम सकेर दुई वर्षभित्र एकता महाधिवेशन गर्ने सहमति थियो। तर, एकताको काम अझै सकिएको छैन । दुई वर्षमा गर्ने भनिएको महाधिवेशन हुन सकेन।
तोकिएकै समयमा महाधिवेशन हुन नसक्ने अर्को कारण हो विश्वभर फैलिएको कोरोना महामारी। चैत आउन अब धेरै समय बाँकी छैन। बाँकी सात महिनामा एकताका बााँकी काम पूरा गरेर महाधिवेशनमा जान पनि सम्भव छैन। त्यसमाथि महामारीले एककताका बाँकी काम समेत प्रभावित हुनेछन्।
महाधिवेशनको तयारीका लागि कार्यदलले असोज १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने सुझाव दिएको छ। तर महामारीका कारण असोजमा केन्द्रीय समिसत बैठक बस्न पनि सम्भव छैन। महामारी कहिलेसम्म रहने भन्ने पनि टुंगो नभएकोले सात महिनामा कुनै पनि हालतमा महाधिवेसन हुन नसक्ने प्रष्ट छ।