विराटनगर । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा मोरङका नाम चलेका विद्यालयले धर्म निभाएका छन्। हरेक वर्ष एसईईको नतिजामा पछि पर्ने विद्यालयले नयाँ रेकर्ड बनाएका छन्।
कोरोनाका कारण विद्यार्थीले लिखित परीक्षा दिन नसकेपछि विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशित भयो। मोरङका सामुदायिक र संस्थागत विद्यालयको नतिजा हेर्दा नाम चलेका विद्यालयको नतिजा गत वर्षकै अनुपातमा छ। गुमनाम विद्यालयले रेकर्ड बनाएका छन्।
मोरङको मात्र तथ्यांक हेर्ने हो भने भने ४ जीपीए दिने होडबाजी नै चलेको देखिन्छ। विगतमा विराटनगरका एक र दुई विद्यालयका एक र दुई विद्यार्थीले ४ जीपीए ल्याउँथे। गत वर्षको तथ्यांक हेर्ने हो भने सामुदायीक र संस्थापक विद्यालयबाट मोरङमा जम्मा ४ जनाले ४ जीपीए ल्याएका थिए। यसवर्ष भने जिल्लामा मात्र ३ सय ३२ जनाले ४ जीपीए ल्याएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय मोरंगको तथ्यांकमा उल्लेख छ।
मोरङका सामुदायिक विद्यालयबाट मात्र ५७ जनाले ४ जीपीए ल्याएका छन्। एउटै विद्यालयका २४ जनासम्मले ४ जीपिए पाएको तथ्यांक छ। मोरङका प्याब्सनमा आवद्ध बिद्यालयहरु मध्ये ८१ वटा विद्यालयले ४ जीपीए ल्याएका छन्। त्यसमा एउटा विद्यालयमा १ देखि २४ जना सम्मले ४ जीपीए पाएका छन्।
नतिजा जे जस्तो आएपनि बिद्यालयले मर्यादा भने कायम गर्न नसकेको सरोकारवालाहरुकोे आरोप छ। शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख दिर्घध्वज चापागाईले धेरै बिद्यालयले मर्यादा कायम गर्न नसकेको बताए। उनले भने,‘ केही राम्रा र ठूला विद्यालयले विचार पु¥याएपनि अरुले ब्यापार बढाउने नीति लिए।’
मोरङका सामुदायिक विद्यालय तर्फ आदर्श मावि विराटनगरका सवैभन्दा बढी १६, सत्यनारायण मावि र राधिका मावि उर्लाबारीका ९–९, केराबारीको शिक्षा विकास माविका र जनता माविका ४ जनाले ४ जीपीए ल्याएका छन्। १७ वटा सामुदायिक विद्यालयले १ देखि १६ जना सम्मलाइ ४ जीपीए दिएका छन्। यसअघि यि विद्यालयले ४ जीपीए ल्याएका थिएनन्।
संस्थागत विद्यालय तर्फ पनि ४ जीपीएको बाढी नै छ। संस्थागत विद्यालयतर्फ सवैभन्दा बढी सिद्धार्थ शिशु सदन विराटनगरका २४, कोशी विद्या मन्दिरका २४, राईजिङ नेपाल रतुवामाईका १३, विनायक स्कुल विराटनगरका ९, माउण्ट मकालु रंगेलीका ८, स्टार सेकेण्डरी विराटनगरका ६ जनाले ४ जीपीए पाए। जहाँ २७ देखि ४८ जनासम्म एसईईका विद्यार्थी थिए।
मोरङका केही नाम चलेका र विद्यार्थी संख्या बढी भएका विद्यलायको आन्तरिक मूल्यांकन पत्यारिलो नै छ। यसअघि राष्ट्रिय तथा क्षेत्रीय शिल्ड विजेता विराटनगरका एभरेष्ट, विकेभिएम, र सगरमाथा बिद्यालयले भने क्रमश: २, ६ र ५ जनालाई मात्र ४ जीपीए दिएर नतिजालाई विश्वासिलो बनाएका छन्। जहाँ क्रमशः १५९, २८१ र १७७ जना एसईई का विद्यार्थी थिए।
मोरङमा २०७५ मा तीन विद्यालयका ४ जनाले ४ जीपीए ल्याएका थिए। सेन्ट मेरिच विराटनगरले २, बिकेभिएम विराटनगर र वाल्मीकि स्कुल पथरीले १–१ जनाले ल्याएका हुन। २०७४ मा भने एभरेष्ट स्कुल विराटनगरका २, एभरेष्ट स्कुल पथरी, सुबिजीमुर, सुन्दरहरैचा र पोखरीया मावि विराटनगरका एक–एक जनाले ४ जीपीए ल्याएका थिए।