काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे छलफल गर्नआज बसेकाे उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा थप्ने नथप्ने बारे कुनै पनि निर्णय नगरेको बताइएको छ ।
दिउँसो ३.०० बजे शुरु भएको बैठक अबेरसम्म चले पनि कुनै निर्णय नभएको र भोलि विहान फेरि बैठक बस्ने काठमार्डौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दहालले जानकारी दिए ।
यस अघि भदाै ३ गते राती १२ः०० बजेबाट जारी निषेधाज्ञा बुधबार बेलुका राती १२ः०० बजेसम्मका लागि रहेकाे छ ।
मंगलबार उपत्यकामा २ सय ३२ सहित थप ८ सय ५५ संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या भने ३३ हजार ५३३ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने १६४ पुगेको छ। २४ घण्टामा सात जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन्। जसमध्ये तीन जना काठमाडौंका हुन्।
भदौ २ गते बसेको उपत्यकाका तीन जिल्लाका सीडीओको बैठकले भदौ ३ गते राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म एक साता निषेधाज्ञाको निर्णय गरेको थियो।
मंगलबार दिउँसोसम्म काठमाडौं उपत्यकामा ३ हजार ७ सय ८ जनामा कोरोना संक्रमण भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ९ सय ५५ जना भक्तपुरमा ३ सय जना र ललितपुरमा ४ सय ५३ जना कोरोना संक्रमित भेटिएका छन् ।
देशका ७७ जिल्लामध्ये कोरोना संक्रमणको हिसावमा काठमाडौं जिल्ला शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा रहेको पर्सा जिल्लामा संक्रमितको संख्या २ हजार ६८ छ ।