सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा लगाइएको निषेधाज्ञाको अवधि दोस्रोपटक थप गरिएको छ ।
स्थानीय प्रशासनले साउन २९ गतेदेखि भाद्र ५ गतेसम्म जारी गरेको निषेधाज्ञा यसअगाडी भाद्र ९ सम्म थप गरिएकोमा आज पुन: थप गर्दै भाद्र १२ सम्म पुर्याएको छ ।
सोमबार (आज) जिल्ला प्रशासन कार्यालय सुर्खेतले एक विज्ञप्ती जारी गर्दै भदौ ९ गते राति १२ बजेसम्म जारी गरेको निषेधाज्ञाको अवधी थपिएको जानकारी दिएको हो ।
सहायक प्रजिय भिमकान्त पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार भदौ १२ गते राति १२ बजेसम्म निषेधाज्ञा कायम गरिएको जनाएका छन् ।
निषेधाज्ञा जारी भएतापनि एम्बुलेन्स, शववाहन, दमकल, झण्डावाल सवारी, सुरक्षा, स्वास्थ्य र कुटीतिक नियोग सवारी साधनहरु, एवं प्रेस/सञ्चारकर्मीका सवारी साधनहरु र अत्यावश्यक सामाग्री संचालनमा प्रयोग हुने सवारी साधनहरु, अन्य जिल्लाबाट यस जिल्लामा आउने कृषि र पशुपन्छी सम्वन्धि (कुखुरा /चल्ला र दाना खसी/बोका, माछा र भुरा) ढुवानी गर्ने सवारीसाधनहरु साथै निर्माण सामाग्री तथा रासायनिक मल ढुवानी गर्ने सवारीसाधनहरु भने निर्वाध रुपमा चल्न पाउने उल्लेख गरिएको छ ।
त्यस्तै मृत्यु दाहसंस्कार बढीमा १५ जना सहभागी हुन पाइनेछ भने अन्य धार्मिक, सांस्कृतिक, सामाजिक (विवाह वर्तवन्ध) लगायतका कुनै प्रकारका जमघट तथा भेला हुने सबै प्रकाका कृयाकलापहरु बन्द गरिएको छ ।