कोरोना भाइरसको सङ्क्रमण बढेसँगै साउन ३० गते रातिदेखि भरतपुर महानगरपालिकामा निषेधाज्ञा जारी गरियो ।
महानगरभित्र कोरोना सङ्क्रमितको सङ्ख्या सय पुग्नै लाग्दा मेयर रेणु दाहालकै अग्रसरतामा निषेधाज्ञा जारी गरियो ।उनले जारी गरेको विज्ञप्तिअनुसार नै महानगर अहिले सुनसान छ । भदौ २ गते महानगरले अर्को विज्ञप्ति जारी गर्यो, ‘हरितालिका तीजको शुभकामना’ व्यक्त गरेर । मेयर दाहालले नै निकालेको विज्ञप्तिमा ‘नगरवासीलाई घरघरमा बसेर मास्क, स्यानिटाइजरको प्रयोग गर्न, भौतिक दुरी कायम गरी तीज पर्व मनाउन विनम्र अनुरोध गर्दछु’ भनिएको छ ।
महानगरको सूचनाका आधारमा नगरवासी आ–आफ्नै घरमा नै तीज मनाउने तयारीमा छन् । आक्कल–झुक्कल माइत हिँड्नेलाई प्रहरीले जरिबाना तिराउने गरेको छ । चितवन प्रहरीले सडकमा हिँड्नेबाट पाँच लाख रुपैयाँभन्दा बढी जरिबाना असुल गरिसकेको छ ।तर मेयर दाहाल आफू भने सुटुक्क माइत पुगेकी छिन् । नागरिकलाई घरमै बस्न उर्दी जारी गरेर आफू भने सुटुक्क माइत पुगेको भन्दै उनको व्यापक आलोचना भइरहेको छ । उहाँ माइत पुगेर ‘तीज विशेष छोरीहरुको साथ’ भन्दै फेसबुकमा तस्बिर आफैले पोस्ट गरेपछि कमेन्टमा समेत आलोचना भएको छ ।