कुशे औंसी सनातन हिन्दु परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमा बाबु नहुनेले खासगरी गोकर्ण र विष्णुपादुका मा श्राद्ध,तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।
कुशको विशेष प्रकारको औंठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म-कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहित हरू यजमानका घरघरै गई कुश यही कुशे औँसीमा पुर्याउँदछन् र यजमानहरूले पनि सिधा-दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।
कुशे औँशीमा खास गरेर आफ्नो पितालाई मान्ने चलन छ। ” पितृदेवो भव” बाबुलाई देवता जस्तो मान्ने हो। यो दिन आफ्नो पितालाई मिठो खानेकुरा खुवाउने र राम्रा लुगा दिने चलन छ। बाबु नहुनेले बाबुको नाममा सिधा मिष्ठान्न खानेकुराहरु दान गर्दछ्न्। कसैले बाबुको सम्झनाको लागि घरैमा तर्पण पिण्डदान गर्दछन् त कसैले गोकर्ण लगायत विभिन्न तीर्थस्थलमा गई तर्पण तथा पिण्डदान गर्दछन्।
गोकर्णेशो हि यत्रास्ते चन्द्रभागा तटोत्तमे।
चन्द्रेणैव तपस्तप्तं मुञ्जवच्छेखरे पुरा।।
कुश घाँस वर्गमा पर्ने धार्मिक दृष्टिकोणले महत्वपूर्ण तृण जाति हो।कुशको महत्व र उपयोगिताबारे श्रीमद् भागवत् ,बिष्णु पुराण, अथर्ववेद, गरुड पुराण तथा गीतामा वर्णित छ।
भाद्रकृष्ण अमावस्यक दिन कुश काटेर ल्याई घरमा राख्नु पर्दछ। सो कुश वर्ष दिनसम्म नित्य,नैमितिक काम्यकर्म तथा प्रत्येक पूजाआजा यज्ञहोमादि आदि कार्यमा नितान्त आवश्यक पर्दछ।
स्नान,दान,जप, होम,पाठपूजा,पितृकार्य तथा सन्ध्या आदि गर्दामा कुश लिएर गर्नुपर्दछ।तसर्थ वैदिक सनातन हिन्दु धर्मालम्बीहरुले यस पर्वलाई उत्सवको रुपमा मनाउँदै आएका छन् ।
कुश,काश, शिरु, दूबो, जौ, गहुँ, बाबियो, सुन, चाँदी, तामा यि १० वस्तुलाई दर्भ भन्दछन्। कुश नमिले काश लिने, काश नमिले क्रमश एकको अभावमा अर्काको प्रयोग गर्न हुन्छ भनिए ता पनि आखिर कुशलाई नै सबभन्दा महत्व मानिएको छ। यस दिन काटिएको कुश वर्षदिनसम्म प्रयोग गर्न सकिन्छ। यदि अन्य दिन उखेलेर वा काटेर ल्याउने हो भने उक्त उखेलेर वा काटेर ल्याएको दिनमा मात्र प्रयोग गर्न सकिन्छ ।
अन्ततः कुशे औंसी ( गोकर्णे औंसी ) , बुबाको मुख हेर्ने दिन एवंम मोतीराम जयन्ती को सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।